July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

मन्त्री बन्ने चर्चामा रहेकी टासी परिन विवादमा, मन्त्री नस्वीकार्ने जेनजीको चेतावनी

Advertisement

भैरहवा– जेनजी युवाहरुले मन्त्री बन्ने चर्चामा रहेकी टासी ल्हाजोमलाई स्वीकार्न नसकिने जनाएका छन् । उनको नागरिकता लगायतको विवाद रहेको जेनजी युवाहरुको दावी छ । तेस्रोपटक विस्तार हुन लागेको मन्त्रिपरिषद्‍मा टासी मन्त्री बन्ने चर्चा थियो । उनलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनाउने तयारी गरिएको थियो ।

Advertisement

मन्त्री बन्ने सूचीमा उनको नाम आएपछि उनी विवादित बनेकी हुन् । जेनजीहरूले नै उनलाई स्वीकार्न नसकिने बताएका छन् । जेनजीका तर्फबाट कर्णालीकी संयोजक सुप्रिया शाहीले विज्ञप्ति जारी गर्दै टासीको नागरिकता विवाद रहेको, जेनजी आन्दोलनमा कुनै भूमिका नरहनेको बताएकी छिन् ।

जेनजीहरुले टासी फ्री तिब्बत अभियानमा संलग्नता रहेको आशंका व्यक्त गर्दै त्यसबारे पनि छानबिन गर्न माग गरेका छन् । साथै कर्णालीको प्रतिनिधित्व गराउन कर्णालीका जेनजीहरुसँग छलफल र परामर्शविना नगर कुनै निर्णय नगर्न विज्ञप्तिमा भनिएको छ । टासीलाई कर्णालीको प्रतिनिधित्व गर्ने गरी मन्त्री बनाउन लागिएको हो ।

कर्णालीका जेनजीहरूले प्रदेशको प्रतिनिधित्वका लागि पटकपटक छलफल पनि गरेका थिए । सम्भावित व्यक्तिका विषयमा समेत छलफल गरेका थिए । छलफलमा टासीको नाम प्रस्ताव भएको थिएन । प्रधानमन्त्री निकट स्रोतका अनुसार उनीबारे प्रधानमन्त्री सुशीला कार्कीले थप छलफल गर्ने बताएकी छन् ।

पूर्वसांसद ज्ञानेन्द्र शाहीले पनि टासी ल्हाजोम नेपाली नभएको भन्दै उनलाई अमेरिकी दूतावासले मन्त्री बनाउन खोजेको आरोप लगाएका छन् ।