जेनजी युवाको सरकारका सबै संयन्त्रहरुमा अर्थपूर्ण सहभागिता हुन्छः मन्त्री खरेल


सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले सरकारका सबै संयन्त्रहरुमा जेनजी युवाको अर्थपूर्ण सहभागिता गराउने बताएका छन् ।
आन्दोलनको मर्म, भावना र उनीहरुका माग समेतलाई सम्बोधन गर्न राज्यका सबै संयन्त्रमा जेनजी युवाको अर्थपूर्ण सहभागिता गराउने उनको भनाइ छ । त्यसका लागि सरकारले आवश्यक गृहकार्य गरिरहेको र जेनजी युवा प्रतिनिधिहरुसँग छलफल पनि गर्दै आएको मन्त्री खरेलले जानकारी दिए ।
मन्त्री खरेलले भने, ‘राज्यका सबै संयन्त्रहरुमा संविधानले, कानुनले, नियमले र व्यवहारले मिल्ने गरी जेनजीहरुको आवाज तथा मागको प्रतिनिधित्व गराउन सरकार क्रियाशील छ । त्यसका लागि जेनजी युवाका प्रतिनिधिहरुसँग छलफल पनि भइरहेको छ ।’
प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार बेलुकाको सम्बोधनमा ‘भविष्यको नेपाल निर्माणमा जेनजीलाई अर्थपूर्ण रुपमा सहभागी गराउन नयाँ संयन्त्रहरु स्थापना गर्ने’ बताएकी थिइन् ।
सरकारका प्रवक्ता खरेलले प्रधानमन्त्रीको भनाइलाई प्रष्ट्याउँदै भने, ‘राज्यका महत्वपूर्ण संयन्त्रहरुमा जेनजीहरुको अर्थपूर्ण प्रतिनिधित्व र सहभागिताको कुरा गरिएको हो ।’
भ्रष्टाचार नियन्त्रण, सुशासन लगायतका मागसहित जेनजी युवाहरु गत भदौ २३ र २४ गते काठमाडौं उपत्यकासहित देशभर आन्दोलनमा उत्रिएका थिए । सो आन्दोलनको बलमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो ।
त्यसपछि जेनजी युवा अगुवाहरुको समेत सिफारिसअनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी थिइन् । उनीमाथि आगामी फागुन २१ गते आम निर्वाचन गराउने मुख्य जिम्मेवारी छ । तत्काललाई भने उनी जेनजी युवाहरुलाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारीमा छिन् ।








प्रतिकृया दिनुहोस्