कुटपिटबाट युवकको हत्या


भैरहवा– दशैँको बेला कुटेर रुपन्देहीको तिलोत्तमामा एक युवकको हत्या भएको खुल्न आएको छ । रुपन्देही प्रहरीका अनुसार जिल्लाको तिलोत्तमा तिलोत्तमा–१०, स्वर्ग रोहिणी देवीघाट सगरहवामा आयोजित दुई दिने दशैं मेलामा २१ वर्षीय निरज थारूको कुटीकुटी गरी हत्या गरिएको हो ।
कुटपिटका क्रममा उनी गम्भीर घाइते भएका थिए । तत्काल उपचारका लागि उनलाई क्रिमशन अस्पताल मणिग्राममा लगिएको थियो । तर, अस्पतालमा भिडियो एक्सरेको सुविधा नभएकाले उनलाई राति नंै देवदह मेडिकल कलेज लगियो ।
असोज १७ गते राति भैरहवा मेडिकल कलेज लगिएका उनको भोलिपल्ट असोज १८ गते बिहान ८ बजे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न आठ जनालाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । ‘उहाँ कुटपिटबाट गम्भीर घाइते हुनुभएको थियो । उपचारको क्रममा भैरहवामा निधन भएको देखिन्छ । हामी अनुसन्धानको क्रममै छौं, अनुसन्धानपछि विस्तृत विवरण आउला’, डीएसपी रानाले भने ।
मृतकको परिवार र स्थानीय समुदायले दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । प्रहरीका अनुसार असोज १६ र १७ गते संगम सहारा युवा क्लब तथा सगरहवा गाउँ समाजद्वारा संयुक्तरूपमा आयोजित मेलामा दुर्गामूर्ति विसर्जन गर्ने क्रममा पार्किङको ठेक्का लिएका व्यक्तिहरू र स्थानीय २१ वर्षीय युवक थारूबीच विवाद भएको थियो ।








प्रतिकृया दिनुहोस्