June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

अलपत्र रहेका ठेक्का तोड्न मन्त्री घिसिङद्वारा विवरण पेस गर्न निर्देशन

Advertisement

भैरहवा–ऊर्जा मन्त्री कुलमान घिसिङले आफ्नो मातहतमा रहेका मन्त्रालयहरुमा लामो समयदेखि अलपत्र अवस्थामा रहेका विकास आयोजना ठेक्काको विवरण तत्काल पेस गर्न निर्देशन दिएका छन् ।

Advertisement

हाल उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री घिसिङले लामो समयदेखि काम नभई अलपत्र पारिएका जीर्ण विकास आयोजनाका ठेक्का तोड्नकालागि विवरण पेस गर्न निर्देशन दिएका हुन् । काम नगर्ने निर्माण व्यवसायीको अनुहार हेरेर आयोजनालाई अलपत्र अवस्थामा राख्न नदिने भनाइ उनको छ ।

तीन वटै मन्त्रालयका सचिव र विभागीय प्रमुखहरूलाई यस खालको जीर्ण आयोजनाहरूको सूची तत्काल तयार गरी पेस गर्न निर्देशन दिए ।

तीन वटै मन्त्रालयहरूको कामकारबाहीको जानकारी लिँदै मन्त्री घिसिङले समबद्ध मन्त्रालयहरुका सचिव र विभागिय प्रमुखहरुलाइ यस खालको जिर्ण आयोजनाहरूको सूची तत्काल तयार गरी पेस गर्न निर्देशन दिएका हुन् ।
ठूला पूर्वाधारका आयोजनाहरू तोकिएका समय र गुणस्तरमा निर्माण सम्पन्न हुन नसक्दा मुलुकले ठूलो आर्थिक क्षति बेहोरिरहनु परेको र त्यस्ता आयोजनाबाट प्राप्त हुने लाभबाट नागरिक वञ्चित भइरहेको उनले बताए ।

‘अब कसैको अनुहार हेरेर हुँदैन, त्यस्ता आयोजनाको पहिचान र मूल्याङ्कन गरी तत्काल सूची पेस गर्नुहोस्,’ उनले निर्देशन दिदै भने ‘जीर्ण बनेका आयोजनाको ठेक्का तोडी नयाँ ठेक्का प्रक्रियामा जानुपर्छ । आयोजनालाई अलपत्र पारेर राख्न पाइँदैन ।’

उनले आफ्नो जिम्मेवारीमा रहेका मन्त्रालय तथा मातहतका कार्यालयमा हुने अनियमितता रोक्नपनि निर्देशन दिएका छन् । अनियमितता फेला परेमा तुरुन्तै कारबाही गर्ने चेतावनी मन्त्री घिसिङको छ ।

‘जेन–जी आन्दोलनको मुख्य एजेण्डानै भ्रष्टाचार नियन्त्रण थियो । भ्रष्टाचार नियन्त्रण गर्न सकिएन भने ठूलो निराशा उत्पन्न हुन्छ’, उनले भने, ‘अनियमितता हुने छिद्रहरूको पहिचान गरी त्यसलाई बन्द गर्नुहोस् र एक रुपैयाँ पनि अनियमितता गरेको फेला परेमा छाडिने छैन ।’