राष्ट्रिय परिचयपत्रका लागि कपलिवस्तुमा शनिवार पनि सेवा


कपिलवस्तु– राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप बढेपछि कपिलवस्तु जिल्ला प्रशासनले शनिवार पनि सेवा दिन थालेको छ । जिल्ला प्रशासनबाट हिजोदेखि सर्वसाधरणलाई यस्तो सेवा दिन सुरु गरेको हो । राष्ट्रिय परिचयपत्रका लागि सेवाग्राहीको भीड थामिनसक्नु भएपछि जिल्ला प्रशासनले बिदाको दिन पनि सेवा दिने निर्णय गरेको जनाएको छ ।
जिल्ला प्रशासनका अनुसार शनिबार पनि बिहान १० बजे कार्यालय खोलेर राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीलाई सुविधा प्रदान गरिएको छ । सरकारी काममा क्रमशः राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि अहिले प्रशासनमा परिचयपत्र बनाउन आउनेको भीड लाग्ने गरेको छ । चाप बढेसँगै परिचयपत्र बनाउने फाँटमा एउटा काउन्टर समेत थपिएको प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताए ।
यसअघि यहाँ दुई काउन्टर मात्र रहेका थिए । प्रशासनमा सेवाग्राहीको चाप बढेपछि कुपन प्रणाली लागू गरिएको छ । कपिलवस्तु, महाराजगन्ज र बुद्धभुमि नगरपालिका तथा यशोधरा, मायादेवी र सुद्धोधन गाउँपालिकाका सेवाग्राहीको काम जिल्ला प्रशासन कार्यालयबाट हुँदै आएको छ ।








प्रतिकृया दिनुहोस्