June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१ आईतवार

फेसबुकको वेब संस्करण ‘ब्लक’

Advertisement

भैरहवा– लामो शंसय र ढुकचुकपछि नेपालभित्र फेसबुक यूआरएल बन्द गरिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सूचीकृत नभएका सामाजिक सञ्जाल निस्क्रिय बनाउन इन्टनेट सेवा प्रदायकलाई निर्देशन दिएसँगै बिहीबार रातीबाट फेसबुकको वेब ठेगानाहरूमा पहुँच रोकिएको हो । शुक्रबार बिहानसम्म केही इन्टरनेट प्रदायकले सेवा दिइरहे पनि बिस्तारै निष्क्रिय हुन थालेको छ ।

Advertisement

इन्टरनेट सेवा प्रदायकको छाता संस्था आइस्पनका प्रमुख कार्यकारी अधिकृत सुभास खड्काले सरकारको निर्देशनपछि यूआरएल ब्लक गर्ने कार्य सुरु भइसकेको पुष्टि गरे । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाललाई निष्क्रिय बनाउन निर्णय गरेसँगै यो कार्यान्वयन गरिएको हो ।

आइस्पानका सीईओ खड्काका अनुसार हिजोबाटै यूआरएल ब्लक गर्ने कार्य सुरु भएको छ । ‘अहिलेलाई लिस्टमा भएका २६ वटा बन्द गर्ने काम हामीले सुरु गरिसकेका छौं,’ उनले भने, ‘हिजोदेखि नै यूआरएलहरू ब्लक गरिएको छ । फेसबुक डटकम भनेर ब्राउज गर्दा यो खुल्दैन ।’

यूआरएल भनेको कुनै पनि वेबसाइटको ठेगाना हो । इन्टनेट सेवा प्रदायकले यूआरएल ब्लक गरेमा प्रयोगकर्ताहरूले त्यो वेबसाइट खोल्न वा त्यसका सामग्री हेर्न सक्दैनन् । एप भने बन्द गरिएको छैन । मोबाइल अपरेटर र इन्टरनेट सेवा प्रदायकहरूले एउटै युनिफर्म स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडरअनुसार काम गर्न चाहिरहेको खड्काले बताए ।