June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

रमेश समर्थनको मुक्तक संग्रह ‘बदनाम आँचल’ लोकार्पण

Advertisement

तिलोत्तमा– तिलोत्तमा साहित्य कला सङ्गीत प्रतिष्ठानले तिलोत्तमा साहित्य सङ्गमको १२ओैँ शृङ्खला तथा मुक्तककार रमेश समर्थनको छैटौं नवीनतम कृति मुक्तक संग्रह ‘बदनाम आँचल’ एक समारोहबीच लोकार्पण भएको छ ।

Advertisement

तिलोत्तमा साहित्य कला सङ्गीत प्रतिष्ठानद्वारा आयोजित तथा होराइजन गौतम बुद्ध मावि तिलोत्तमाद्वारा प्रायोजित कार्यक्रममा प्राध्यापक ऋषिराम भुसाल, प्राज्ञ वूँद राना, भाषाविद् एवम् प्राध्यापक डा. मुरारी पराजुली, कवि रुद्र ज्ञवाली र स्वयं कृतिकार रमेश समर्थनले संयुक्त रूपमा उक्त संग्रहको लोकार्पण गरेका हुन् ।

कार्यक्रममा शिक्षाविद् रुद्र ज्ञवालीले कृतिबारे आफ्नो धारणा प्रस्तुत गर्दै कृति उत्कृष्ट रहेको बताए । डा. मुरारी पराजुलीले मुक्तकलाई कविताको लघुत्तम आयाम भन्दै यसको बढ्दो प्रभावकारिता र अबका मुक्तकहरु कालजयी बनाउनेगरि सृजना गर्नुपर्ने कुरा उल्लेख गरे । उनले समर्थनको कृति ‘बदनाम आँचल’ शिखरमुखी रहेको जनाए ।

प्राज्ञ वुँद राना, प्राध्यापक डा. कपिलदेव लामिछाने, साहित्यकार वनमाली निराकार, साहित्यकार डा. श्यामप्रसाद न्यौपाने, साहित्यकार विजय सागर लगायतले प्रतीकका मुक्तकहरूले समसामयिक विषयवस्तु र वर्तमान असन्तुलित राजनीतिक परिवेशलाई मार्मिक ढङ्गले उजागर गरेको बताउँदै कृतिको प्रशंसा गर्दै साहित्यप्रेमीहरूले ‘बदनाम आँचल’ लोकार्पणलाई साहित्य जगतको लागि महत्वपूर्ण उपलब्धि भएको धारणा राखे ।

तिलोत्तमा साहित्य सङ्गमको १२ओैँ शृङ्खलामा सङ्गम अनुरागी, लक्ष्मीप्रसाद अधिकारी, लक्ष्मण ज्ञवाली, गङ्गा घिमिरे, कृषा पाण्डे, तुलसीराम ढकाल, श्रीराम नेपाली, छवि ज्ञवाली, सरू ज्ञवाली, राधा भट्टराई, विश्वजित गुप्ता, उद्धव देवकोटा, लगायतले आफ्ना मौलिक रचना वाचन गरेका थिए । संस्थाका सदस्य उद्धव देवकोटाको स्वागत र प्रतिष्ठानका सदस्य मोहन मरासिनीले सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।