June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

रूपन्देही-३ उपनिर्वाचन: एमालेमा उम्मेदवार टुङ्गो लगाउने जिम्मा पदाधिकारीलाई

Advertisement

बुटवल- रूपन्देही-३ काे आगामी कार्तिक १७ मा हुने उपनिर्वाचनका लागि नेकपा एमाले, रुपन्देहीले उम्मेदवारको टुङ्गो लगाउन जिल्लाका पदाधिकारीलाई जिम्मा दिएको छ। यसअघि बसेको पार्टीको निर्वाचन क्षेत्र नं. ३ को बैठकले निर्वाचनका लागि ४ जना आकांक्षीहरूको नाम जिल्ला कमिटीमा सिफारिस गरेको थियो।

Advertisement

मङ्गलवार बुटवलमा बसेको जिल्ला सचिवालयको बैठकले निर्वाचनका लागि आकांक्षी बनेका ४ जना मध्येबाट उम्मेदवार सिफारिस गर्न पदाधिकारीलाई जिम्मेवारी दिएको हो। एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख मिनप्रसाद पौडेलले जिल्ला सचिवालय र क्षेत्रीय कमिटीले जिम्मेवारी दिए अनुरूप पदाधिकारीले उम्मेदवारको नाम प्रदेश र केन्द्रीय कमिटीमा सिफारिस गर्ने बताए । ‘‘सचिवालय र क्षेत्रीय कमिटीले जिम्मेवारी दिए अनुरूप सकेसम्म एकजनामा सहमति जुटाउने र त्यो हुन नसके सोही अनुसार निर्णय गरेर प्रदेश र केन्द्रीय कमिटीमा नाम सिफारिस गर्ने गरी पदाधिकारीलाई जिम्मेवारी दिइएको छ,’ पौडेलले भने।

२०७९ सालमा सम्पन्न निर्वाचनबाट प्रतिनिधिसभा सदस्य निर्वाचित राप्रपाका दीपक बोहराको निधन भएपछि रुपन्देही क्षेत्र नं. ३ मा उपनिर्वाचन हुँदैछ। निर्वाचनका लागि एमालेले यसअघि नै क्षेत्रीय कमिटीलाई आकांक्षीहरूको नाम सिफारिस गर्न निर्देशन गरेको थियो।

जिल्ला कमिटीको सोही निर्देशन अनुसार क्षेत्रीय कमिटीले आकांक्षीहरू पार्टीका पोलिटब्युरो सदस्य खिमलाल भट्टराई, सिद्धार्थनगर नगरपालिकाका पूर्वनगरप्रमुख हरिप्रसाद अधिकारी, नेता यज्ञजित शाह र शशि पौडेलको नाम सिफारिस गरेको थियो।

निर्वाचनका लागि चारजनाले आकांक्षा व्यक्त गरेपछि पार्टीले सर्वसम्मत सिफारिस गर्न पार्टी भित्र छलफल चलाउन थालेको हो। मङ्गलवार बसेको सचिवालय बैठकले सर्वसम्मत उम्मेदवार छनोटका लागि पहल गर्दै प्रदेश कमिटीमा सुझावसहित २०८२ भदाै १५ गते भित्र उम्मेदवारको सिफारिस गर्न जिल्लाका पदाधिकारीलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख पौडेलले जानकारी दिए।

बैठकले उम्मेदवारको विषयसँगै पार्टीको आसन्न विधान महाधिवेशनमा प्रस्तुत हुने संशोधित विधान मस्यौदाको अध्ययन र छलफल गरी थप लिखित सुझाव दिने पनि निर्णय गरेको छ। पार्टीका जिल्ला अध्यक्ष यज्ञ गैरेले बैठकमा प्रस्तुत गरेको विधान मस्यौदामाथि अध्ययन र व्यापक छलफल गरी आगामी भदौ ३ गते भित्र जिल्ला कमिटीको कार्यालयमा थप लिखित सुझाव पेस गर्न मातहतका कमिटिलाई निर्देशन गर्ने निर्णय पनि बैठकले गरेको छ।

एमाले रुपन्देहीका अध्यक्ष गैरेको अध्यक्षता तथा पार्टीका पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज लीला गिरिको प्रमुख आतिथ्यतामा बसेको बैठकमा नेताहरू दधिराम न्यौपाने, खिमलाल भट्टराई, शिवराज सुवेदी, सावित्रा अर्याल, गुमादेवी आचार्य, कमल गौतम, विष्णु पन्थी, राधाकृष्ण कँडेल लगायतको उपस्थिति थियो। बैठकमा जिल्ला कमिटीका उपाध्यक्ष हितराज पन्थीले स्वागत र सचिव चित्रबहादुर कार्कीले सञ्चालन गरेका थिए।