June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

रूपन्देही–३ को उपनिर्वाचन ‘मिनी जनमत संग्रह’ होः अध्यक्ष लिङ्देन

Advertisement

भैरहवा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले रुपन्देही–३ मा आगामी कार्तिक १७ गते हुने उपनिर्वाचनमा काँग्रेस–एमालेका कार्यकर्ताहरुले आफ्नै पार्टी र उम्मेदवारलाई हराएर मुलुकमा सुधारको सन्देश दिनुपर्ने बताएका छन् । उनले तीन दशक सत्तामा रहेका यी दुई दल मिल्दा पनि मुलुकका लागि केही काम गर्न नसकेको, बरु भ्रष्टाचार मौलाएको जनाए ।

Advertisement

मंगलबार राप्रपा रुपन्देही क्षेत्र नम्बर ३ क्षेत्रीय कमिटीद्वारा भैरहवामा आयोजित कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष लिङ्देनले भने, ‘उपनिर्वाचन हुँदैछ, यो सिट कुनै पार्टीले जित्नु–नजित्नुमा केही फरक पर्दैन । संसदीय अंक गणितमा कुनै प्रभाव पार्दैन । तर, यो निर्वाचनले पछिल्लोपटक कांग्रेस र एमालेको सरकारको क्रियाकलाप कस्तो रह्यो ? जनताका पक्षमा कस्ता काम भए ? प्रतिपक्षले कस्तो भूमिका खेले भन्ने परीक्षण भने हुन्छ । यसले मुलुकमा सन्देश दिन्छ र यो ‘मिनी जनमत संग्रह’ पनि हो । जनतामा चेतनाको स्तर कति माथि उठ्यो, पुरानै काम नगर्नेलाई रोजेकी मुलुक बदल्छु भन्ने पार्टी रोजे भन्ने परीक्षण पनि हो ।’

उनले अघि भने, ‘कांग्रेस र एमालेका मतदाताले पनि आफ्नो पार्टी र नेता सुधार्न चाहन्छन् भने उपनिर्वाचनमा यी पार्टीलाई हराएर सुधारको संकेत गर्नुपर्छ ।’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लोकतन्त्र मान्छ की, राजतन्त्र मान्छ ? धर्मनिरपेक्षता, संघीयता र व्यवस्थाप्रति उसको के धारणा छ ? भन्ने केही नछुट्टिएको लिङ्देनले जनाए ।

उनले राप्रपाका बारे, अहिलेको व्यवस्थाबारे आम मतदातालाई ठीक ढंगले बुझाउनुपर्ने बताए । ‘उपनिर्वाचन मतदाताको चेतनास्तर नाप्ने समय हो’, उनले भने, ‘यो क्षेत्र विशिष्ट प्रकारको छ, नेपालको लिडिङ गर्छ । नेपालको प्रतिनिधित्ब गर्छ । त्यसैले पार्टीका सबै साथीहरु सक्रिय भएर लाग्न आग्रह गर्छु ।’ उनले निर्वाचनलाई लक्षित गरी क्षेत्रका ३६ वटै वडामा प्रचार समिति र कार्यालय खोलेर काम गर्न पार्टी पंक्तिलाई निर्देशन दिए ।

‘निर्वाचनका क्रममा म पनि सबै वडामा पुग्छु’, उनले भने, ‘उम्मेदवार को हुने भन्ने कुरामा अलमलिनु पर्दैन । समयमा उम्मेदवार आउँछ । तपाईंहरुले भनेकै मान्छे उम्मेदवार हुन्छ । म भए ठीक, नभए बेठिक भन्नू गलत हो । जसले राम्रो काम गर्छ, उहीँ उम्मेदवार बन्छ । आजबाट आकांक्षीहरु परीक्षामा बस्नु, पार्टीको काम गर्नु ।’ उनले एमालेका कार्यकर्ताहरुलाई केही नभन्न आग्रह गरे । ‘हामीसँग सहकार्य गरेर विष्णु पौडेल, छविलाल विश्वकर्मा, बासुदेव घिमिरे र हाम्रा नेता दीपक बोहराले जित्नुभयो’, उनले भने, ‘दुर्भाग्य दीपक दाई बित्नुभयो । त्यतिबेला एमालेका साथीहरुले हामीलाई पाँच वर्षका लागि भनेर भोट दिनुभएको हो । यसपटक पनि सहयोग गर्नुहुनेछ भन्ने विश्वास छ । तपाईंहरु एमालेसँग त्यहीअनुसार कुरा गर्नुस्, म पनि गरौंला ।’

उनले कांग्रेस–एमालेको वर्तमान संयुक्त सरकार ढल्छ–ढल्छ भन्ने हल्ला बेलाबेलामा आउने गरी पनि कमिसन र भागबण्डामा कुरा मिलेपछि हल्ला हल्लामै सीमित हुने गरेको सुनाए । ‘सरकार तलमाथि भयो, हामी सरकारबाट बाहिर गयौं भने हामी जेलमा जानुपर्छ भनेर फेरि मिल्छन् । हिजोको गल्तीले जेलमा जान्छौं भनेर डराउनेहरुले अब त गल्ती नगरे हुन्थ्यो’, उनले भने, ‘तर, यी दलका नेताहरुले ठेक्कापट्टा, सरुवा बढुवा, नियुक्ति, निर्णय, हरेकमा कमिसन र मानिस बेचेर पैसा खाँदैछन् । दिनको पचास लाख उठाएर युवा बेचेका छन्, कसैले सिमेन्ट छडमा पैसा बढाएर कमिसन खान्छन् । जसरी हुन्छ कमिसन खानुपर्छ भन्ने ध्यानमै मन्त्री र नेताहरु छन् ।’

खाडी मात्रै होइन्, भाषा पढेर कोरिया जाने युवाहरुसँग पनि निश्चित विमानमै जानुपर्ने नीति तोकेर कमिसन खाने काम भएको उनले आरोप लगाए । ‘अब कोरिया पनि १० लाखसम्म तिरेर म्यानपावरबाट पठाउने भनिएको छ । यो पनि लुटेर खानकै लागि हो’, उनले भने । लिङ्देनले मुलुकको सार्वजनिक ऋण ८ वर्ष अघि ६ खर्ब भए पनि अहिले २८ खर्ब नाघेको बताए ।

‘अब कर्मचारीलाई तलब दिन पनि ऋण लिने अवस्था छ । अब यो कुरा जनतालाई बुझाउनुपर्छ । यिनिहरुले देशलाई खोक्रो पारे’, उनले भने, ‘जनताले पैसा तिरेर पनि मल पाउँदैनन्, तीन दशक बढी भयो यिनिहरुले सरकार चलाएको तर मल कारखाना खोल्दैनन् । बरु अर्बौं खर्चेर मल ल्याउँछन् र कमिसन खान्छन् ।’ लिङ्देनले कुन बालीमा कुनबेला के चाहिन्छ भन्ने थाहै नभएका नेताहरु र मन्त्रीहरुले युरिया चाहिँदा डीएपी, पोटास चाहिँदा युरिया ल्याउने गरेको आरोप लगाए । ‘उनीहरुमा ज्ञान नै छैन । खाली कमिसन चाहिन्छ’, उनले भने ।

वडा सदस्यदेखि पूर्वप्रधानमन्त्री र राष्ट्रपतिसम्मका लागि विदेशीसँग ऋण लिएर पाल्न नहुने उनको तर्क छ । ‘त्यसैले केन्द्र र स्थानीय तह भए पुग्छ । प्रदेश चाहिँदैन’, उनले भने, ‘प्रदेश खारेज गरेर स्थानीय तह पनि घटाउनुपर्छ ।’ अदालत र अख्तियारमा पनि नेताहरुकै आफ्ना नियुक्त भएकाले भ्रष्टाचारीलाई कारबाही र नियन्त्रण हुन नसकेको उनले जनाए । ‘नेताले भ्रष्टाचार गर्छन् । दलका कार्यकर्ता अदालत र अख्तियारमा छन् । कहाँबाट कारबाही हुने ? त्यसैले समस्या नेतामा मात्रै होइन्, व्यवस्थामा पनि छ’, उनले भने ।

पार्टीका उपाध्यक्ष ध्रुवबहादुर प्रधानले पार्टीले सुशासन र समृद्धिको नीति लिएकाले जनतालाई बुझाउन जरुरी रहेको बताए । रुपन्देही–३ विगतमा राप्रपाले जितेको क्षेत्र भएको उपनिर्वाचनमा पनि जित जरुरी रहेको जनाए । ‘त्यसका लागि पार्टी एकढिक्का हुनुपर्छ । पार्टीले लोकप्रिय र योग्य उम्मेदवारलाई छनोट गर्छ । तपाईंहरु काममा खट्नुस्’, उनले भने । कार्यक्रममा बोल्ने केन्द्रीय सहमहामन्त्री ताहिर अली लगायतका नेताहरुले रुपन्देही र क्षेत्रमा स्वर्गीय दीपक बोहराको महत्वपूर्ण योगदान रहेकाले उपनिर्वाचनमा पनि पार्टीले जित निकाल्ने बताएका थिए ।