May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

वर्षा नभएपछि मनसुनमा बढे पर्यटक

Advertisement

भैरहवा – वर्षा नभएर मुलुकभरका किसान छटपटीमा छन् । तर, यही बेला नेपाल घुम्न आउने पर्यटकको संख्या भनेको बढेको पाइएको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ को जुलाईमा नेपालमा ७० हजार १ सय ९३ अन्तर्राष्ट्रिय पर्यटक आएका छन् । यो संख्या अघिल्लो वर्षको तुलनामा ८.७ प्रतिशतले बढी हो । बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालमा पर्यटक आकर्षण बढेको बताए । पर्यटन पुनरुत्थान भइरहेको उनको भनाई छ ।

Advertisement

जुलाईमा सबैभन्दा बढी २७ हजार १ सय ५२ पर्यटक भारतबाट आएका छन्, जसले कुल पर्यटकको ३८.७ प्रतिशत हिस्सा ओगटेको छ । पर्यटन बोर्डका अनुसार २०२५ जनवरीदेखि जुलाईसम्म (७ महिना) मा नेपालमा कुल ६ लाख ४७ हजार ८ सय ८२ अन्तर्राष्ट्रिय पर्यटक आगमन भएको छ । प्रमुख कार्यकारी अधिकृत जोशीले अहिले बढेको संख्याले नेपालको पर्यटन पुनरुत्थान र लोकप्रिय गन्तव्यका रूपमा स्थापित हुँदै गएको देखाएको प्रतिक्रिया दिएका छन् ।

जुलाईमा कुल आगमनमध्ये सबैभन्दा बढी भारतबाट मात्रै २७ हजार १ सय ५२ अर्थात् ३८.७ प्रतिशत पर्यटक आएका छन् । दोस्रो स्थानमा चीनबाट ६ हजार ८ सय ९० जना (९.८ प्रतिशत), तेस्रोमा अमेरिकाबाट ६ हजार ६ सय २६ जना (९.४ प्रतिशत), बंगलादेशबाट ४ हजार ४ सय १३ जना (६.३ प्रतिशत) र बेलायतबाट ३ हजार ५ सय ४७ जना (५.१ प्रतिशत) पर्यटक नेपाल आएका छन् ।

क्षेत्रीय विश्लेषण गर्दा दक्षिण एसियाली देशबाट सबैभन्दा बढी ३३ हजार ७ सय ८७ जना (४८.१ प्रतिशत) आएका छन् । अन्य एसियाली देशबाट १३ हजार ५२ जना (१८.६ प्रतिशत), युरोपबाट ९ हजार २ सय ९२ जना (१३.२ प्रतिशत), अमेरिकाबाट १२ हजार ७ सय ७५ जना (११.१ प्रतिशत), ओसिनिया क्षेत्रबाट १ हजार ८ सय ७ जना (२.६ प्रतिशत), मध्यपूर्वबाट ८ सय २६ जना (१.२ प्रतिशत), अफ्रिकाबाट ३ सय १८ जना (०.५ प्रतिशत) र अन्य क्षेत्रबाट ३ हजार ३ सय २९ जना (४.७ प्रतिशत) पर्यटक आगमन भएको छ ।