भैरहवाको मेडिकल कलेजः एक हजारलाई रोजगारी, पश्चिम नेपालको उपचारको केन्द्र


भैरहवा– रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसिएमएस) पश्मिच नेपालको उपचार गन्तव्य बनेको छ । साविक लुम्बिनी र राप्ती प्रदेशको उपचार केन्द्र बनेको मेडिकल कलेजले अहिले आफ्नो सेवा र क्षमता बिस्तारलाई ध्यान दिएको छ । विशेषज्ञ चिकित्सा सेवाका कारण उपभोक्ताबीच मेडिकल कलेजले विश्वास आर्जन गरिरहेको छ ।
अहिले रुपन्देहीमा ठूलो लगानीमा अन्य अस्पताल सञ्चालनमा आउने क्रममा छन् । तै पनि वर्षौदेखि सेवा प्रदान गरिरहेको मेडिकलले सेवाग्राहीलाई गुनासोरहित बनाउनेतर्फ अग्रसर बनिरहेको जनाएको छ । सीमा क्षेत्रमा रहेको यो मेडिकल कलेज रोजगारीको केन्द्र बनेको छ । अहिले यहाँ प्रत्यक्ष रूपमा १ हजार २० जनाले रोजगारी गरिरहेका छन् । मेडिकल कलेजसँग सम्बन्धित रहेर अप्रत्यक्ष व्यापार–व्यवसाय गर्ने धेरै छन् । संस्थाले गुणस्तरीय चिकित्सा शिक्षा र सुलभ स्वास्थ्य सेवामा जोड दिएको छ ।
संस्थाले स्थापनाकालदेखि दक्ष स्वास्थ्यकर्मी उत्पादन गर्दै आएको छ । साथै लाखौं बिरामीलाई उपचार सेवा प्रदान गरेको छ । मेडिकल कलेजमा सूचना अधिकारी शुशिल गुरुङले अहिले १ सय ६२ जना चिकित्सक, २ सय ८६ जना नर्सिङ्ग कर्मचारी र ५ सय ६२ जना प्रशासनिक कर्मचारी कार्यरत रहेको जानकारी दिए । यसबाहेक सफाईकर्मी, सुरक्षागार्ड, प्लम्बर, इलेक्ट्रिसियन लगायतका क्षेत्रबाट पनि कलेज प्रशासनले सोही अनुपातमा रोजगारी दिएको छ ।
मेडिकल कलेजकै कारण यस वरपर फार्मेसी, सामान्य चिया खाजा पसल लगायत गरेर अन्य सयौं जनाले अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । मेडिकल कलेज भैरहवाको आर्थिक गतिविधिको एक महत्वपूर्ण मेरुदण्ड बनेको छ । विशाल जनशक्ति र सेवाग्राहीको आवतजावतले यहाँको बजारलाई चलायमान बनाउँदै भैरहवा हुँदै समग्र अर्थतन्त्रमा टेवा पुर्याएको छ । मेडिकल कलेजले यति ठूलो संख्यामा रोजगारी सिर्जना हुनुले भैरहवा र यस आसपासका क्षेत्रका सयौं परिवारको जीविकोपार्जनमा प्रत्यक्ष सहयोग पुगेको छ ।
सन् १९९८ मा स्थापना भएको अस्पतालले निजी क्षेत्रबाट सञ्चालित अग्रणी मेडिकल कलेजहरूमध्ये एक हो । अस्पतालमा रूपन्देहीका साथै लुम्बिनी प्रदेशका अन्य जिल्ला तथा सीमावर्ती भारतीय बिरामीहरु यहाँ उपचार गराउने गरेका छन् । सामान्य चिकित्सा, शल्यक्रिया, बाल रोग, स्त्री रोग तथा प्रसूति, हाडजोर्नी, आँखा, नाक, कान, घाँटी, छाला तथा यौन रोग, मानसिक स्वास्थ्य, लगायतका दर्जनौं विशेषज्ञ सेवाहरू यहाँ उपलब्ध रहेको सूचना अधिकारी गुरुङ्गले जनाए ।








प्रतिकृया दिनुहोस्