देशभरका रोटरीयनहरूद्वारा एकै दिन ५० हजार वृक्षारोपण


भैरहवा– वातावरणीय दिगोपनप्रतिको प्रतिबद्धता र एकताको अद्वितीय उदाहरण प्रस्तुत गर्दै नेपालभरिका १५० भन्दा बढी रोटरी क्लबहरूले ‘रोटरी प्लान्टेसन डे– २०२५’ अन्तर्गत एकै दिन ५० हजार भन्दा बढी विरुवा रोपेका छन् । यो वृक्षारोपण अभियान देशव्यापी लक्ष्य अनुसार एकैदिन सम्पन्न गरिएको हो ।
रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल–भूटानका डिष्ट्रिक्ट गभर्नर विनोद कोइरालाको नेतृत्वमा सञ्चालन गरिएको यस अभियानलाई नेपालका सबै क्षेत्रमा एकसाथ कार्यान्वयन गरिएको थियो । जलवायु परिवर्तनसँग जुध्ने र हरियाली प्रवद्र्धन गर्ने उद्देश्यका साथै रोटरीयनहरू र उनीहरूका सेवा साझेदारबीच सहकार्य र मित्रता अझ बलियो बनाउने अभियानको मूल उद्देश्य हो ।
‘यो केवल रूख रोप्ने होइन, आशा रोप्ने र समुदायसँगको सम्बन्ध अझ सुदृढ बनाउने अभियान हो,’ गभर्नर कोइरालाले भने, ‘देशभरबाट देखिएको व्यापक सहभागिता र ‘सेवा माथि स्वार्थ’ भन्ने रोटरीको लक्ष्यप्रतिको साझा प्रतिबद्धता देखेर गर्व लागेको छ ।’
यस अभियानले क्लबहरूलाई विभिन्न समुदायहरूको भ्रमण गर्ने अवसर दिएको थियो । जसबाट उनीहरूले स्थानीय आवश्यकता र चुनौतीहरू बुझ्न सके र भविष्यका सेवाका सम्भावनाहरू पनि पहिचान गर्न सकेका छन् । सहरी पार्कदेखि दुर्गम पहाडी क्षेत्रसम्म, विद्यालय, सार्वजनिक स्थल, स्वास्थ्य चौकी र राजमार्ग छेउमा बिरुवाहरू रोपिएको हो ।
वृक्षारोपणपछि बिरुवाको स्याहार र संरक्षणमा पनि विशेष ध्यान दिइएको छ । जहाँ धेरै क्लबहरूले स्थानीय सरोकारवालासँग सहकार्य गरेका छन् । रोटरी प्लान्टेसन डे २०२५ ले ‘युनिटी फर गुछ’ भन्ने रोटरी इन्टरनेशनलका अध्यक्ष फ्रान्चेस्को अरेज्जोद्वारा अगाडि सारिएको थीम अनुरूप सामूहिक प्रयासको शक्ति र हरित, दिगो र सहकार्यमा आधारित विश्व निर्माणप्रति रोटरीयनहरूको स्थायी प्रतिबद्धतालाई प्रस्ट रूपमा उजागर गरेको छ ।








प्रतिकृया दिनुहोस्