लामिछानेलाई ‘वर्ष समालोचना सम्मान–२०८२’ प्रदान गरिने


भैरहवा– रुपन्देहीको भैरहवा बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख एवं समीक्षक तथा समालोचक प्रा.डा. कपिलदेव लामिछाने सम्मानित हुने भएका छन् । नमस्ते आधुनिक लघुकथा मञ्चले आफ्नो सातौँ वार्षिकोत्सवको अवसरमा यस वर्षको ‘वर्ष समालोचना सम्मान–२०८२’ प्रा.डा.लामिछानेलाई प्रदान गर्ने घोषणा गरेको हो ।
संस्थाका अनुसार समीक्षक तथा समालोचक लामिछानेलाई नेपाली आधुनिक लघुकथाको समीक्षा र समालोचनामा विशिष्ट योगदान पुर्याएको योगदानस्वरूप नगद ७ हजार ७ सय ७७ रूपैयाँ र सम्मानपत्रसहित सम्मान गरिनेछ । औपचारिक सम्मान समारोह आगामी कार्यक्रमअन्तर्गत चितवनको राप्ती नगरपालिकामा आयोजना गरिनेछ ।
वि.सं. २०१५ असोज २४ गते कास्की पोखराको माझठानामा जन्मिएका लामिछानेले त्रिभुवन विश्वविद्यालयबाट ‘नेपाली गाउँखाने कथा’ विषयमा विद्यावारिधि गरेका छन् । हाल उनी रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–७ का स्थायी बासिन्दा हुन् ।
उनले ‘अन्यथा’, ‘जलमानव’, ‘बोन्साइ’ लगायत आधा दर्जन लघुकथा सङ्ग्रह, एक समालोचना कृति, करिब ५० बढी अन्य साहित्यिक कृति प्रकाशित गरिसेका छन् । लामिछानेले गीता प्रथमा रजत पदक, महेन्द्र विद्याभूषण पदक ख, मकबुल अहमद लारी स्वर्ण पदकसहित चार दर्जनभन्दा बढी सम्मान प्राप्त गरेका छन् । उनले विभिन्न साहित्यिक तथा समाजिक संस्थाको नेतृत्वसमेत गरेका छन् ।








प्रतिकृया दिनुहोस्