May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

पाल्पामा ‘वेटर वेट्रेस’ सम्बन्धी १० दिने तालिम

Advertisement

पाल्पा– हस्पिटालिटी क्षेत्रमा दक्ष कामदार आपूर्ति गराउने उद्देश्यसहित पाल्पाको तानसेनमा १० दिने वेटर वेट्रेस तालिम सुरु भएको छ । स्विस सरकारको सहयोगमा नेपाल होटल संघ (हान), होटल संघ लुम्बिनी प्रदेश तथा सिद्धार्थ होटल संघको आयोजना र पाल्पा होटल संघको समन्वयमा तालिम सञ्चालन सुरु भएको हो ।

Advertisement

तानसेन बतासेडाँडास्थित होटल श्रीनगरमा तालिमको उद्घाटन गर्दै होटल संघ नेपालका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश संयोजक चन्द्रप्रकाश श्रेष्ठले होटलमा कार्यरत कामदार कर्मचारीको दक्षता अभिवृद्धि साथै नयाँ जनशक्ति तयार गर्ने र दक्ष जनशक्तिले मात्रै हस्पिटालिटी क्षेत्रको स्तर वृद्धि गर्ने भएकाले स्विस सरकारसित सहकार्यमा तालिम सञ्चालन गरिएको जानकारी दिए । सीप सिकेर अझै दक्ष हुने र नयाँले तालिमबाट धेरै कुरा सिकी रोजगार प्राप्त गर्न सहज हुने भएकाले तालिममा दत्तचित्त भएर १० दिनसम्म सहभागी बन्न श्रेष्ठले आग्रह गरे ।

पाल्पा होटल संघका अध्यक्ष एवं श्रीनगर होटलका प्रबन्ध निर्देशक जयन्त भुसालले धेरै पछि पाल्पा तानसेनमा यस किसिमको तालिम सुरु भएको र तालिमले रोजगारमा रहेकालाई थप दक्ष बनाउने तथा नयाँ जनशक्ति समेत तयार हुने बताए । तालिमले होटल क्षेत्रको सेवा साथै नेतृत्व र व्यक्तित्व विकास समेत हुने जनाउँदै यो तालिम पुरै निःशुल्क रहेको र होटलमा निःशुल्क प्रयोगात्मक साथै सैद्धान्तिक शिक्षाको माध्यमबाट सिक्न अध्यक्ष श्रेष्ठले प्रशिक्षार्थीमा आग्रह गरे ।

तालिमका प्रशिक्षक धिरेन राकस मगरले तालिममा वेटर वेट्रेसले हस्पिटालिटी क्षेत्रमा गर्ने काम र भूमिका मात्र नभई हस्पिटालिटी क्षेत्रका अन्य सैद्धान्तिक कुरा पनि सिकाइने भएकाले १० दिनको तालिममा कुनै पनि दिन नछुटाउन आग्रह गरे । सिद्धार्थ होटल संघका उपाध्यक्ष भोज खत्रीले होटल पर्यटन क्षेत्रमा दक्ष जनशक्तिको खाँचो रहेकाले यो तालिमले केही रुपमा मद्दत गर्ने बताए । तालिममा पाल्पाका बिभिन्न होटल तथा रिसोर्टका २० जना युवायुवतीको सहभागिता रहेको छ । पाल्पामा छिट्टै हाउसकिपिङको प्रशिक्षण पनि संचालन गरिने बताइएको छ ।