महिलाहरुलाई आत्मनिर्भर बनाउन फोटोग्राफी, भिडियोग्राफी र ग्राफिक तालिम


तिलोत्तमा– रुपन्देहीको तिलोत्तमा नगरपालिकाले स्थानीय महिलाहरुको जीवनस्तर उकास्न र सिप मार्फत् आत्मनिर्भर बनाउन फोटोग्राफी तथा भिडियोग्राफी र ग्राफिक तालिम शुरु गरेको छ । नगरपालिकाको आयोजनामा महिलासँग उपप्रमुख कार्यक्रम अन्तर्गत सो फोटोग्राफी तथा भिडियोग्राफी र ग्राफिक तालिम शुरु भएको हो ।
महिलाहरूलाई प्रविधिमा दक्ष बनाउन फोटो तथा भिडियोग्राफी सम्बन्धी ३० दिने आधारभूत तथा क्षमता विकास तालिम दिन थालिएको नगर उपप्रमुख जागेश्वरदेवी चौधरीले बताइन् । महिला हिंसा रोक्न र घरेलु कामदारको रुपमा मात्रै महिलाहरुलाई हेर्ने दृष्टिकोण परिबर्तन गर्न यस्ताखाले तालिमले ठुलो योगदान पुर्याउने उनको भनाई छ । सिप सिकेर व्यवसायिक बन्न आग्रह गर्दै अहिलेको परिबेशमा सबैखाले शुभकार्यहरुमा फोटो र भिडियोको माग बढ्दै गएकाले घरमै बसेर या ब्यवसायिक रुपमा समेत यस तालिमबाट महिलाहरुले मनग्य आम्दानी गर्न सक्ने नगर उपप्रमुख चौधरीले जनाइन् । प्रविधिको विकाससँगै महिलाहरुलाई समयानुकुल दक्ष र आत्मनिर्भर बनाउन फोटो तथा भिडियोग्राफी तालिम आयोजना गरिएको उपप्रमुख चौधरीले जनाइन् ।
२३ जना सहभागीहरुलाई फोटो खिच्ने, फोटो इडिटिङ्ग, भिडियो खिच्ने तथा इडिटिङ्ग र ग्राफिक डिजाइन सम्बन्धि सिप सिकाउन शुरु गरिको तालिममा स्थानीय फोटो र भिडियोको काम गर्दै आएका महिला र अन्य सिप रोजगार र नयाँ व्यवसाय गर्न सक्ने सक्षमताका आधारमा छनोट गरि तालिममा सहभागी गराइएको सूचना प्रबिधि शाखाका मोहन न्यौपानेले बताए । सो अवसरमा लुम्बिनी फोटो ग्राफर संघका अध्यक्ष दिनेश अर्यालले फोटो र भिडियो मार्फत् महिलाहरुलाई रोजगारी र आम्दानीसँग जोड्न नगरपालिकाले गरेको प्रयासको खुलेर प्रशंशा गरे ।
उनले यस ब्यबसायको समाजमा धेरै नै माग भएको र दक्ष जनशक्ति पाउन निकै कठिन भएको परिस्थितिमा यस्तो तालिमले ठुलो योगदान दिने बताए । सिर्जनशील आमा समूहकी उपाध्यक्ष पारु छन्तेलले महिलाहरुलाई आत्मनिर्भर गराउन नगरपालिकाले खेलेको भूमिका सह्रानीय रहेको बताए । कार्यक्रममा प्रशिक्षकहरु प्रेमबहादुर अर्याल, अनमोल पोख्रेल, लुम्बिनी फोटोग्राफर संघका गीता पंगेनी, कमला घर्ती, आकाश पन्थ, संचारकर्मी शारदा शाहीसँगै सिर्जनशील आमा समूहका प्रतिनिधि एबम् प्रशिक्षार्थीहरुको सहभागिता थियो ।
नगरका सीप तथा तालिमको अभावमा युवापुस्ता विदेशिनु पर्ने बाध्यता छ, हरेक युवालाई प्रविधिमैत्री बनाउँदै आफ्नै ठाउँमा बसेर व्यावसायिक काम गर्ने वातावरण सिर्जना गर्न यस पटक फोटो तथा भिडियोग्राफीसम्बन्धी आधारभूत तथा क्षमता विकास तालिमको आयोजना गरिएको नगरपालिकाले जनाएको छ । यस तालिमले फोटो तथा भिडियोग्राफीमै भविष्य खोज्नेहरुको लागि थोरै भए पनि सहयोग पुग्ने आशा राखेको सामाजिक बिकास शाखा प्रमुख बिनोद ज्ञवालीले बताए । फोटो तथा भिडियोग्राफीसम्बन्धी तालिममा नगरपालिकामा स्थायी बसोबास गर्ने र फोटो स्टुडियो व्यवसाय गर्ने २३ जना सहभागी छन् ।








प्रतिकृया दिनुहोस्