पाल्पाका पाँच गाउँपालिका पूर्णप्रसूति सेवायुक्त


पाल्पा– पाल्पाका पाँच गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा भएका छन् । बुधबार रिब्दीकोट गाउँपालिकालाई लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तिमगरले प्रसूति सेवायुक्त पालिको प्रमाणपत्र प्रदान गरे ।
घोषणाका लागि गाउँपालिकाका आठवटै वडाका जनप्रतिनिधि, स्वास्थ्य संस्थाका कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका लगायतको उपस्थितिमा पञ्चेबाजा बजाएर र्यालीसमेत निकालेका थिए । सचेतनामूलक र्याली सिलाङ्थोकदेखि हार्थोक हुँदै गाउँपालिकासम्म पुगेको थियो ।
उक्त अवसरमा रिब्दीकोट गाउँपालिकालाई पूर्णखोप दिगोपना सुनिश्चितता घोषणासहित प्रमाणपत्रसमेत प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले बताए । वडाध्यक्ष, स्वास्थ्य शाखा प्रमुख, महिला स्वास्थ्य स्वयंसेविकालाईसमेत घोषणा कार्यक्रममा सम्मान गरिएको छ ।
रिब्दीकोट गाउँपालिकाको खस्यौली, फेक, पालुङमैनादी, कुसुमखोलामा रहेका स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी सेवा प्रदान गरिन्छ । एक वर्षको अवधिमा १ सय ९३ जनामध्ये १ सय ९२ जनाले प्रोटोकल अनुसार चार पटक गर्भजाँच गराएको स्वास्थ्य शाखा प्रमुख अधिकारीले जानकारी दिए । सतप्रतिशत गर्भवती महिलाले दक्ष प्रसूतिकर्मीको उपस्थितिमा स्वास्थ्य संस्थामै प्रसूति गराएको तथ्यांक रहेको प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनालले बताए ।
विगत तीन वर्षदेखि कुनै पनि महिलाले घरमा, बाटोमा र साथै अन्य स्थानमा प्रसुति नगराएको गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले बताइन् । लुम्बिनी प्रदेश सरकारले बनाएको मापदण्ड अनुसार अनुसूची ४ को दफा (५) को (ङ) संग सम्बन्धित पूर्ण संस्थागत सेवायुक्त स्थानीय तह घोषणा गर्न तोकेको मापदण्ड निर्देशिका अनसार प्रोटोकल पूरा गरेको गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले बताए ।
यसमा चार पटक गर्भजाँच कम्तीमा ९० प्रतिशत हुनुपर्ने, सुत्केरी भएका मध्ये ९५ प्रतिशत महिलाले दक्ष प्रसूतिकर्मीहरुको उपस्थितिमा स्वास्थ्य संस्थामै प्रसुति हुनुपर्ने, घरमा हुने प्रसूति शून्य हुनुपर्ने र प्रसूति पछि पनि ९० प्रतिशतले जाँच हुनुपर्ने उल्लेख छ । रिब्दीकोट गाउँपालिकासँगै पाल्पाका पाँचवटा गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा गरिएको छ । यसअघि पहिलो पटक पूर्वखोला गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा भएको थियो । त्यसपछि रम्भा, बगनासकाली र माथागढी गाउँपालिका घोषणा भएका थिए ।








प्रतिकृया दिनुहोस्