गुल्मीदरबारमा आधारभूत अस्पताल


गुल्मी– जिल्लास्थित गुल्मीदरबार गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालनमा आएपछि स्थानीय खुसी छन् । ‘एक पालिका ः एक आधारभूत अस्पताल’ अभियान अन्तर्गत निर्मित १५ शय्याको अस्पतालको सोमबार लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले उद्घाटन गरेका थिए । गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले अस्पताल एक एमबीबीएससहित १२ जना स्वास्थ्यकर्मीको व्यवस्था गरेर संचालनमा ल्याएको बताए । गुल्मीदरबार आधारभूत अस्पताल जिल्लामै पहिलोपटक २ वर्षअघि सम्पन्न भएको थियो ।
संघीय सरकारको विशेष अनुदानमा निर्माण अस्पताल संचालन गर्ने जिम्मेवारी स्थानीय पालिकाको हो । २०७८ असार १५ मा बिकोई अर्जुन न्यूलिजा गुल्मीले निर्माणको जिम्मा पाएको थियो । २०८० असारमा पालिका अस्पतालको निर्माण सम्पन्न भएको थियो । पालिका अस्पताल भवन कुल १२ करोड ९४ लाख रुपैयाँमा निर्माण भएको हो ।
अस्पतालको मापदण्ड अनुसार ३ एमबिबिएससहित २८ स्वास्थ्यकर्मी र ४ जना कार्यालय सहयोगीसहित ३२ जनाको दरबन्दी हो । स्थानीय पालिकाले मापदण्ड अनुसार दरबन्दी पदपुर्ति गरेर अस्पताल चलाउन सक्ने स्थिति नभएको गाउँपालिका अध्यक्ष थापाले बताए ।
‘अस्पतालमा लुम्बिनी प्रदेश सरकारबाट बेड, इसिजी मेसिन, अल्ट्रासाउण्ड मेसिन, अक्सिजन कन्सन्ट्रेटर मेसिन लगायतका आवश्यक उपकरणहरुको व्यवस्था भएको थियो । अस्पतालको नवनिर्मित भवन उद्घाटन गर्दै मन्त्री कार्कीले आगामी नीति तथा कार्यक्रममा तयार भएका स्थानीय आधारभूत अस्पताल संचालन गर्नेगरी समावेश गर्ने बताए ।
‘छात्रवृत्तिमा एमबिबिएस अध्ययन गरेका स्वास्थ्यकर्मीलाई कम्तीमा २ वर्ष पालिका आउने व्यवस्था बनाउनुपर्छ,’ उनले भने, ‘गाउँमै नागरिकले उपचार पाउने गरि अस्पताल संचालनमा ल्याउनैपर्छ ।’








प्रतिकृया दिनुहोस्