May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

सञ्चालन समिति अध्यक्ष नहुँदा पृथ्वीचन्द्र अस्पतालका सेवा प्रभावित

Advertisement

परासी– सञ्चालन समिति अध्यक्षबिहीन हुँदा पश्चिम नवलपरासी सदरमुकामस्थित पृथ्वीचन्द्र अस्पतालको सेवा प्रभावित बनेको छ । अध्यक्ष अभावमा आन्तरिक ब्यवस्थापनमा समस्या देखिएको छ । मुख्यतः अस्पतालमा थप दुईवटा सेवा विस्तार हुन सकिरहेको छैन् । ६ महिना अघि नै आँखा उपचार विभाग स्थापना गर्ने निर्णय गरिएको छ । यसका साथै मृगौला रोगीका लागि डायलासिस सेवा तथा आईसीयु सेवा सञ्चालन गर्ने भनिए पनि अहिलेसम्म काम हुन सकेको छैन ।

Advertisement

अस्पताल सञ्चालन समितिका अध्यक्षको म्याद गत चैत २२ गते सकिएको थियो । अस्पतालमा नयाँ अध्यक्ष नियुक्त नहुँदा आन्तरिक ब्यवस्थापनमा समस्या भइरहेको अस्पताल ब्यवस्थापनले जनाएको छ । अस्पतालमा महत्वपूर्ण आँखा र मृर्गौला रोगसम्बन्धि उपचार सेवा सञ्चालनमा ढिलाई भइरहेको छ । निकट भविष्यमा डायलासिस सेवा सञ्चालनका लागि तयारी भइरहेको दाबी अस्पतालका सूचना अधिकारी गोविन्द ज्ञवालीले गरे । उनका अनुसार डायलासिसका लागि नयाँ मेसिन आइसकेको छ । मेसिन सञ्चालन गर्नका लागि दुई जना कर्मचारी बुटवलमा तालिम लिन पठाइएको उनले बताए ।

आँखा उपचारका लागि नेत्र रोग विशेषज्ञ सीमा भण्डारी र नेत्र सहायक समेत अस्पतालमा कार्यरत छन् । तर, आवश्यक उपकरण अभावले आँखाको शल्यक्रिया हुन सकेको छैन । आँखाका लागि विशेषज्ञले समान्य आँखा परीक्षण गर्ने कार्य मात्रै भइरहेको छ । ब्यवस्थापकीय अभावले सर्जिकल सेवा सुरु हुन सकेको छैन् । त्यसैगरि सघन उपचार कक्ष (आईसीयु) को ब्यवस्थापन पनि कमजोर हुँदा सो सेवा प्रभावकारी हुन सकिरहेको छैन् ।

अस्पतालमा डेढ महिनादेखि रेडियोलोजिस्ट डाक्टर हाजिर भएर सेवा दिँदा विरामीको आकर्षण बढेसँगै अस्पतालमा आँखा परीक्षणका लागि विभाग खडा गर्ने जानकारी गराइएको थियो । ५० शय्या अस्पतालमा बहिरँग विभाग अन्तर्गत नै आँखा परीक्षणका सेवा समेत सञ्चालन गर्नु पर्ने मान्यता अनुसार अस्पतालले सो आँखा परीक्षणका लािग विभाग बनाउने योजना ल्याएको थियो ।