अप्रिलमा सवा लाख विदेशी पर्यटक भित्रिए


भैरहवा– सन् २०२५ को अप्रिल महिनामा अहिलेसम्मकै धेरै विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अप्रिलमा एक लाख १६ हजार ४ सय ९० पर्यटक भित्रिएका हुन् । अप्रिल महिनामा विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले जनाएको छ ।
उक्त महिनामा सबैभन्दा बढी भारतबाट २५ हजार ९ सय ३३, अमेरिकाबाट १० हजार ५३, चीनबाट नौ हजार ३७ र बेलायतबाट ६ हजार ८ सय ३८ पर्यटक आएका हुन् । बोर्डका अनुसार सन् २०१९ को तुलनामा १०६ दशमलव ५ प्रतिशतले विदेशी पर्यटक आगमनमा बढोत्तरी भएको छ । कोरोना महामारीपूर्व सन् २०१९ को अप्रिल महिनामा सबैभन्दा धेरै एक लाख नौ हजार ३९९ विदेशी पर्यटक नेपाल आएका थिए ।
सन् २०२४ को अप्रिलमा एक लाख ११ हजार ३ सय ७६ जना विदेशी पर्यटक नेपाल आए भने सन् २०२३ को अप्रिलमा ९८ हजार ७७३ जना पर्यटक नेपाल भित्रिएका थिए । ’हामीले आधिकारिक रुपमा १०६ दशमलव ५ प्रतिशत पूर्व–महामारी स्तरमा पुगेका छौँ, यसले बलियो ‘रिकभरी’ र नेपालमा बढ्दो विश्वव्यापी चासो देखाउँछ’, बोर्डले उल्लेख गरेको छ ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले अप्रिल महिनाको पर्यटक आगमन उत्साहवद्र्धक रहेको बताए । ‘यो वृद्धि नेपालको स्थायी आकर्षण र पर्यटन सभ्यताको प्रमाण हो’, उनले भने ।








प्रतिकृया दिनुहोस्