May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

आफन्त नेपालद्वारा महिलाहरूलाई हेयरकट र ब्युटिसियन तालिम

Advertisement

भैरहवा– रुपन्देहीका विभिन्न स्थानीय तहबाट सहभागी ३५ जना महिलाहरुलाई जेन्स हेयरकट तथा ब्युटिसियन तालिम प्रदान गरिएको छ । मानव बेचविखन र लैंगिक हिंसाविरुद्धका क्षेत्रमा काम गर्दै आएको संस्था आफन्त नेपाल, भैरहवा शाखाले ६ महिनासम्म उनीहरुलाई तालिम प्रदान गरी दक्ष बनाएको हो ।

Advertisement

शुक्रबार भैरहवामा आयोजित कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी, संस्थाका क्षेत्रीय व्यवस्थापक उषा गुरुङ, सिद्धार्थनगर ३ का वडाध्यक्ष नारायणप्रसाद उपाध्याय लगायतले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै आगामी दिनमा तालिममा सिकेका सीप र ज्ञानहरु व्यवहारिक रुपमा प्रयोगमा ल्याउन आग्रह गरे ।

उपप्रमुख अधिकारीले सर्टिफिकेट प्राप्त गरेर मात्रै नहुने जनाउँदै सीपलाई व्यवहारमा प्रयोग गर्नुपर्ने जनाइन् । ‘कुनै पनि सीप र ज्ञानलाई निरन्तरता नदिए सिकेको कुरा बिर्सिन्छ’, उनले भनिन्, ‘त्यसैले तपाईंहरुले यहाँ सिकेको सीप प्रयोग गर्नुस् ।’ आफै व्यवसाय गर्न वा नभए रोजगारीमा लाग्न उनको सुझाव छ । उनले महिलाहरु आत्मनिर्भर भए समाजले हेर्ने दृष्टिकोण नै परिवर्तन हुने बताइन् । सक्षम भए महिलाहरु हिंसाबाट समेत जोगिन सक्ने अधिकारीले जनाइन् । संस्थाले यस क्षेत्रमा गरेका कामा सह्रानीय रहेको अधिकारीको भनाई छ ।

वडाध्यक्ष उपाध्याय, क्षेत्रीय व्यवस्थापक गुरुङ, संस्थाको भैरहवा शाखामा कार्यरत पद्मा आचार्य र प्रशिक्षक काबेरी विश्वकर्माले सीपको सदुपयोग गरे आत्मनिर्भर बन्न सकिने भएकाले त्यसतर्फ लाग्न आग्रह गरे । प्रशिक्षक विश्वकर्मा आफन्त नेपालको संरक्षणमा आएपछि तालिम लिएर प्रशिक्षक बनेकी हुन् ।

विगत १८ वर्षदेखि आफन्त नेपालले रुपन्देहीका सीमा क्षेत्रमा मानववेचविखन र लैंगिक हिंसाविरुद्ध काम गर्दै आएको छ । यस्तै, जोखिममा परेका महिला तथा युवतीहरुलाई सीपमूलक तालिम दिई दक्ष बनाउँदै आएको छ । यसरी तालिम लिनेहरु कतिपय आफ्नै व्यापार गरेर बसिरहेका छन् भने कयौं विभिन्न व्यवसायिक प्रतिष्ठानमा रोजगाररत छन् ।