May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

बाँकेको भेरी अस्पतालमा आगलागीले क्षति भएपछि दुई दिन आकस्मिक बाहेकका सेवा बन्द

Advertisement

नेपालगंज– आगलागीले क्षति पुर्याएपछि बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. निराजन सुवेदीले मेडिकल स्टोरमा आगलागी भएकाले आइतबार र सोमबार (आज र भोलि) आकस्मिक बाहेकका सेवा बन्द गरिएको जानकारी दिए ।

Advertisement

‘शनिबार भएको आगलागीका कारण आज र भोलि दुई दिन ओपीडीमा बिरामी जाँच र ल्याब सेवाको काम बन्द गरिएको छ’, उनले भने । भ्याक्सिन राख्ने फ्रिजबाट विद्युत् सट भएर आगो लागेको र करिब तीन–चार करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको मेसु डा. सुवेदीले बताए ।

उनका अनुसार शनिबार ओपीडी बिल्डिङमा रहेको मेडिकल स्टोर (अस्पतालमा दिनहुँ खपत हुने सामान राख्ने कोठा) मा आगलागी भएको थियो । आगलागीबाट ओपीडी भवन, मेडिकल स्टोर र फार्मेसीमा क्षति पुगेको छ । आगलागीको वास्तविक कारण र क्षतिको विवरण पत्ता लगाउन अस्पताल विकास समितिका सदस्य डा. डक्ट धितालको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।