April 22, 2025, Tuesday
२०८२ बैशाख ९

नेपाली सेनाका गोरखा–जितगढी पदयात्री पाल्पा पुगे

भैरहवा- प्रत्येक वर्ष नेपाली सेनाको गोरखा दरबार हनुमान भन्ज्याङ्बाट सुरु भएर बुटवलको जितगढी किल्लामा समापन हुुुुने गोरखा–जितगढी पदयात्राको टोली मंगलबार पाल्पा आइपुगेको छ । उक्त टोली गोरखादरबारबाट गत चैत २८ गते हिँडेको थियो । मंगलबार उक्त टोलीलाई पाल्पा र स्याङ्जाको सिमाना केलादीघाटमा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापा, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी लगायतले स्वागत गरेका थिए ।

Advertisement

ऐतिहासिक दरबार, गढी, किल्ला र पदमार्गको संरक्षण अभियान अन्तर्गत नेपाली सेनाले स्थानीय तहहरुसंगको सहकार्यमा गोरखादरबारदेखि जितगढीसम्मको यो पदयात्रा तेस्रो पटक आयोजना गरेको हो । गोरखाबाट हिडेको टोली तनहुँ, स्याङ्जा, पाल्पा हुँदै बैशाख ७ गते ऐतिहासिक जितगढी किल्लामा पुग्नेछ ।

राष्ट्रिय झण्डासहित एकीकरणमा स्थापित श्रीनाथ, कालीबक्स, बर्दवाणी, सबुज, पुरानो गोरख र जितगढी लडाईमा सहभागी गुरुबक्स गुल्म सहभागी छन् । पदयात्रामा गोरखाको रिपुमर्दन गण, तनहुँको रूरू भैरवदल गण, काली भञ्जन गण, राजदल गण, दि फेमस महिन्द्रदल गण र रुपन्देहीको तारादल गण सहभागी हुनेछन् ।