कांग्रेस–एमालेबीच दरार आएकै हो ?

आउँदो संसदीय चुनावसम्म सहकार्य गर्ने प्रतिबद्धता जनाएका कांग्रेस र एमालेबीचको सत्ता सहयात्रामा नौ महिनामै दरार उत्पन्न भएको छ।
गत असारमा दुई दलबीच भएको सात बुँदे सहमतिअनुसार संसद्को बाँकी कार्यकालमध्ये डेढ वर्ष एमाले अध्यक्ष केपी शर्मा ओली र त्यसपछि आम चुनावसम्म शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति भएको थियो। सहमतिअनुसार ओलीको कार्यकाल अब ११ महिना बाँकी छ।
तर, नेपालमा सरकारको सालाखाला हुने नौ महिनाको अवधि पूरा भएसँगै कांग्रेस–एमालेबीच असमझदारी बढ्न थालेको छ। सरकारमै रहेर पनि कांग्रेसका शेखर कोइरालासहित नेताहरु ओली नेतृत्वको सरकारको काम कारबाहीप्रति सुरुका केही महिनालगत्तैदेखि सार्वजनिक रुपमा असन्तुष्टि व्यक्त गर्दै आएका थिए।
अब भने कोइरालाको सरकारप्रतिको असन्तुष्टिलाई सभापति शेरबहादुर देउवाले सार्वजनिक मञ्चबाटै अनुमोदन गरेका छन्।
शनिबार टोखामा बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको साधारणसभालाई सम्बोधन गर्ने क्रममा नेता शेखर कोइरालाले यसअघि जस्तै आफ्नै पार्टीले भरथेग गरेको सरकारप्रति देउवाकै अगाडि असन्तुष्टि व्यक्त गरे।
उनले ओलीका कामकारबाहीलाई सहयात्री दलका हिसाबले कांग्रेसले नियन्त्रण गर्नुपर्ने आशय व्यक्त गर्दै सरकारको असफलताबाट जोगिनुपर्ने धारणा राखे। सहयात्रीका हिसाबले एमाले नेतृत्वको सरकारको कामले कांग्रेससमेत अप्ठयारोमा पार्ने भएकाले बेलैमा खबरदारी गर्नुपर्ने कोइरालाको भनाइ थियो।
गठबन्धन गर्दा व्यक्त गरिएका संविधान पुनरवलोकन, सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न नसक्दा र दिनदिनै दण्डहिनता बढ्दा जनतामा आक्रोश बढेको कोइरालको भनाइ थियो।
‘यो सरकारले कतै गलत, कमी कमजोरी गरिरहेको छ कि भनेर हामीले खबरदारी गरिरहनुपर्छ। त्यो नगरे नेपाली कांग्रेस अफ्ठ्यारोमा पर्छ। यो सरकारले तीन वटा कुरा खासगरीः संविधान पुनरवलोकन, संशोधन गर्ने कुरा गरेको छ। यसमा अब ढिलाइ नगरौँ। जति ढिलाइ हुन्छ, त्यति सडक आक्रोशित हुन्छ,’
कोइरालाले अगाडि भनेका थिए, ‘सुशासन वास्तवमा छैन भने पनि हुन्छ। सुशासन दिलाउनलाई कन्जुस्याइँ नगरौँ। भ्रष्टाचारको म कुरा गर्दिनँ दण्डहिनता बढेको बढ्यै छ। यो कुरालाई हामीले नियन्त्रण गरेर अघि जान सक्छौँ भन्ने मलाई विश्वास छ।’
सरकारप्रति कोइरालाको यस्तो अभिव्यक्ति सुनेपछि सभापति देउवाले त्यसलाई अनुमोदन गरे। सम्भवत सार्वजनिक रुपमा देउवा ओली सरकारप्रति व्यक्त असन्तुष्टिलाई स्वीकार गरेको शनिबार पहिलोपटक हो। सरकारबाट ठूला बदनामीहरु भइरहेकाले अब नहोस् भन्ने छोटो तर अर्थपूर्ण भनाइ राखे। उनले भने, ‘अघि शेखर कोइरालाले भनिसक्नुभयो, सरकारको नाममा अहिले धेरै ठूलो बदनामीहरू भइरहेको छ, यो नहोस् भनिसक्नु भयो।’
त्यसअघि बिहीबार महामन्त्री गगन थापाले पनि सत्ता साझेदार कांग्रेसको भनाइले सरकार सञ्चालनमा स्थान नपाएको बताएका थिए। उनले दुई दलका नेता सम्मिलित राजनीतिक संयन्त्र बनाए पनि त्यसका सुझावलाई कार्यान्वयन नगरिएको गुनासो गरे। अपेक्षाअनुसार सरकारले काम नगरेको र प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति असन्तुष्टि पोखेका थिए।
‘जुन गतिमा सरकारले काम गर्नुपर्छ भन्ने हाम्रो अपेक्षा हो, त्यो गतिमा काम हुन सकिरहेको छैन,’ महामन्त्री थापाले अगाडि भने, ‘प्रधानमन्त्रीको काम प्रधानमन्त्री र मन्त्रीको काम मन्त्रीले गर्ने हो। संयन्त्रको काम सरकारले लिने नीतिगत सुधारको विषयमा बल पुर्याउने हो। केपी ओली नेतृत्वको सरकारले राम्रो काम गरोस् भनेर हामीले सहयोग गरिरहेका छौँ। तर बिँड तातेर केही नहुँदो रहेछु। ताप्के पनि तात्नुपर्ने रहेछ। हामीलाई छिटो काम चाहिएको छ। तर किन भइरहेको छैन?’
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बर्खास्ती र नयाँ नियुक्ति, त्रिभुवन विश्वविद्यालयका भिसीको राजीनामा, गर्भनरजस्ता ठूला नियुक्तिले पनि कांग्रेस एमालेलाई सकसमा पारेको छ।
कांग्रेसका प्रभावशाली नेताहरुले ओली सरकारप्रति सार्वजनिक रुपमै चर्को असन्तुष्टि जनाइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुखै खोलेर नयाँ वर्षसँगै नयाँ सरकार बन्ने दाबी नै गरेका छन्।
शनिबार सरकारप्रति कोइरालाको असन्तुष्टि देउवाले अनुमोदन गरिरहँदा चितवन पुगेका दाहालले ओली नेतृत्वको सरकार धेरै नजाने टिप्पणी गरे। ‘नयाँ वर्षले केही न केही निकास चाहिँ लिएर आउँछ भन्ने मलाई लाग्छ। पछिल्लो पटक घटनाक्रमहरु नयाँ भए। केही नयाँ अनुभवसहित भनेको हो मैले। मलाई लाग्छ, त्यही दिशातिर देश जान्छ,’ दाहालले आफूलाई धेरै बोल्न नलगाउन आग्रह गर्दै अगाडि थपे, ‘परिस्थिति यस्तो बन्दैछ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा पनि देखिइराख्या छ।’
त्यसअघि प्रचण्डले अब ठूलो दलको हिसाबले कांग्रेस सरकारको नेतृत्व गर्न तयार हुनुपर्नेसमेत बताएका थिए।
सोमबार सचिवालय बैठक नै बसेर एमालेले दाहालको भनाइको खण्डन गरेको छ। पार्टी कार्यालय च्यासलमा बसेको बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले दाहालको अभिव्यक्तिलाई कुण्ठाको संज्ञा दिए। उनले भने, ‘अस्तिदेखि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फेरि सरकार परिवर्तनको हल्लाहरू गरिरहनुभएको छ। यसले उहाँमा सरकारबाहिर रहँदाको एकखालको कुण्ठा, एकखालको पीडाबोध प्रकट हुन्छ। अहिले सकार परिवर्तन न कतैबाट सम्भव छ न त्यसको कुनै सान्दर्भिकता छ। न त्यसको कुनै औचित्य छ।’
एमालेले सरकार परिवर्तनको औचित्य नदेखे पनि सहयात्री दल कांग्रेसभित्र असन्तुष्टि चुलिँदै गएको प्रष्ट देखिन्छ। दाहालको भनाइको प्रतिवाद गरेको एमालेले कांग्रेसभित्रको घटनाक्रमलाई भने थाहा नपाए झैँ गरिरहेको छ।
प्रतिकृया दिनुहोस्