April 22, 2025, Tuesday
२०८२ बैशाख ९

गगनको दावी– विचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छ

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले विचौलियाहरूको पहुँच प्रधानमन्त्रीको शयन कक्षसम्म हुने गरेको बताएका छन्। मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले निजी क्षेत्र र विचौलिया फरक कुरा भएको बताउँदै अहिलेको अर्थतन्त्रमा समस्या विचौलियाका कारणले आएको जिकिर गरे ।

Advertisement

उनले विचौलियाहरूको पहुँच नेतृत्व तहको शयन कक्षसम्म हुने गरेकाले अहिलेको समस्या सिर्जना भइरहेको बताए ।

पहिला पहिला राष्ट्र बैंकको गभर्नरको बारेमा छलफल हुँदा यो बन्ला की त्यो बन्ला भन्ने कौतुहलता हुने गरेको भए पनि अहिले विचौलियाको क्यान्डिडेट भनेर खुल्लम खुला बहस र छलफल हुने अवस्था देखिएको बताए ।

महामन्त्री थापाले भने, ‘प्राइभेट सेक्टर र विचौलिया भनेको फरक कुरा हो । हाम्रो इकोनोमिमा अहिले समस्या भएको भनेको विचौलियाको कारणले हो । विचौलियाहरुः म यो प्रधानमन्त्री त्यो प्रधानमन्त्री भन्दिनँ । विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो । नेतृत्वको बेडरुमसम्म हुने भयो । मलाई अहिलेसम्म थाहा थिएन । पहिला पहिला राष्ट्र बैंकको गभर्नरको बारेमा छलफल हुँदै गर्दा गभर्नर यो बन्ला की त्यो बन्ला की । गभर्नर यसले बनाउला की त्यसले बनाउला की ? भन्नेकुरा हुन्थ्यो । अब अहिले विचौलियाको क्यान्डिडेट भनेर खुल्लम खुला बहस हुने, छलफल हुने अवस्था बन्ला की आउने भनेको हामी कहाँनेर पुग्यौँ ?’

महामन्त्री थापाले आसेपासेलाई पोस्ने व्यवस्था पुँजीवादी व्यवस्था नै नभएको जिकिर गरे। नागरिक बलियो भएमात्रै राज्य बलियो हुने उनले बताए। फोहोरी राजनीतिको अङ्ग बन्नका लागि आफूहरु अहिले क्रियाशिल नभएको उनको भनाइ थियो।

आफूहरू फोहोर सफा गर्नका लागि पोखरीमा पसेको महामन्त्री थापाको भनाइ थियो । फोहोर सफा गर्न पोखरीमा छिरेको हुनाले कहिलेकाहिँ बाहिरबाट हेर्दै गर्दा फोहोर नै देखिए पनि आफूहरू फोहोरमा मिसिन नभइ सफा गर्नका लागि गएको उनले बताए ।

नागरिकका अपेक्षा पूरा गर्नका लागि सरकारले गति लिन नसकेको थापाले बताए। दुई ठूला राजनीतिक दलहरू मिलेर सरकार बनाएपछि संविधानमा बदलाव ल्याउनेदेखि विकास निर्माणका कामलाई तिब्रता दिने अपेक्षा गरे पनि त्यसअनुसार काम हुन नसकेको उनले जिकिर गरे।