रेडपान्डा संरक्षण गर्न दोस्रो चरणको परियोजना सुरु

रोल्पा– दुर्लभ वन्यजन्तु रेडपान्डा संरक्षणका लागि दोस्रो चरणको परियोजना लागू गरिएको छ । रेडपान्डा नेटवर्कको आर्थिक सहयोगमा ‘समुदायमा आधारित रेडपान्डा (हाब्रे) संरक्षण परियोजना–२’ सुरु भएको हो । रोल्पाका माथिल्लो भेगमा कार्यक्रम लागू गरिएको हो ।
रोल्पास्थित मानवअधिकार सचेतन केन्द्र हुरेकले रेडपान्डाको बासस्थान संरक्षणमा ध्यान पुर्याउन परियोजना सञ्चालन गरिएको जनायो । रेडपान्डा नेटवर्कको आर्थिक सहयोगमा पूर्वी रोल्पास्थित सुनछहरी गाउँपालिकामा कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष भोलानाथ आचार्यले बताए । पहिलो चरणमा रोल्पासहित डोल्पा, रुकुम पूर्व र रुकुम पश्चिममा उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । पहिलो चरणमा रोल्पा नगरपालिकासहित थबाङ, सुनछहरी, गंगादेव र परिवर्तन गाउँपालिकामा कार्यक्रम गरिएको थियो ।
दोस्रो चरणको परियोजना ५ वर्षसम्म चल्नेछ । रेडपान्डा भएको स्थानको अनुसन्धान र अनुगमन, जनचेतना विकास, बासस्थान व्यवस्थापन, स्थानीयका लागि दिगो जीविकोपार्जनका कार्यक्रम र प्रवद्र्धन हुनेछ । सुनछहरी गाउँपालिकामा कार्यक्रम क्षेत्र परेको र त्यसभित्र ५ वटा सामुदायिक वन र २ वटा विद्यालय रहेकाले जनचेतना विस्तार गरेर रेडपान्डा जोगाउन स्थानीयलाई समेत सहभागी बनाउने कार्यक्रमको लक्ष्य छ ।
प्रहरीका अनुसार केही वर्षअघि यस क्षेत्रबाट चोरी गरिएका रेडपान्डाका छालासहित केही व्यक्तिलाई प्रहरीलाई दाङ र प्युठानबाट नियन्त्रणमा लिएको थियो । सुरु अवधिमा रेडपान्डा नेटवर्कले १५ लाख बजेट खर्चेकामा दोस्रो चरणको पहिलो वर्ष ३९ लाख बजेट खर्च गर्ने योजना छ ।
प्रतिकृया दिनुहोस्