April 22, 2025, Tuesday
२०८२ बैशाख ९

छोराको मुद्दामा प्रमाण खोज्न अवैध हतियारसहित बाबु पक्राउ

कपिलवस्तु– कहिलेकाँही एउटा राजको अनुसन्धान गर्दा परिणाम फरक निस्किन सक्छ । यस्ता घटना भएको छ कपिलवस्तुको वाणगंगामा । लागूऔषध ओसारपसार मुद्दामा पक्राउ परेका छोराका सम्बन्धमा थप प्रमाण खोज्न घर पुगेको प्रहरी टोलीले बाबुलाई नै अवैध भरुवा बन्दुकसहित पक्राउ गरेको छ । वाणगंगा नगरपालिका–१ बैरियाका ५८ वर्षीय गंगाराम थारु शुक्रबार साँझ आफ्नै घरबाट पक्राउ परेका हुन् ।

Advertisement

इलाका प्रहरी कार्यालय, पिपराबाट खटिएको टोलीले गंगारामको घर खानतलासी गर्दा उनी सुत्ने कोठामा लुकाइराखेको अवस्थामा एक थान अवैध भरुवा बन्दुक फेला पारेको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनमणि अधिकारीका अनुसार बन्दुक बरामद भएपछि गंगारामलाई नियन्त्रणमा लिइएको छ ।

प्रहरीका अनुसार गंगारामका २५ वर्षीय छोरा प्रकाश थारुलाई चैत्र १७ गते सीमा क्षेत्रबाट लागूऔषध (ब्राउन सुगर) सहित पक्राउ गरिएको थियो । इलाका प्रहरी कार्यालय पकडीको टोलीले मायादेवी गाउँपालिका–३ बरगदवामा लु ९ प २७७१ नम्बरको मोटरसाइकल जाँच गर्दा ट्यांकीभित्र लुकाइएको ४ ग्राम ५० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो ।

सोही लागूऔषध मुद्दाको अनुसन्धानका क्रममा थप प्रमाण जुट्न सक्ने आशंकामा प्रहरीले प्रकाशको घरमा खानतलासी गर्ने अनुमति लिएको थियो । खानतलासीकै क्रममा बाबु गंगारामको कोठाबाट अवैध बन्दुक बरामद भएको डीएसपी अधिकारीले बताए ।