April 22, 2025, Tuesday
२०८२ बैशाख ९

नगर प्रमुख खाँले भने– ‘शिक्षा क्षेत्र प्रभावित भयो, शिक्षकका माग तत्काल सम्बोधन गर

भैरहवा– रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले आन्दोलनरत शिक्षकहरुको माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ । अहिले नेपाल शिक्षक महासंघको आह्वानमा काठमाडौं केन्द्रित आन्दोलन जारी छ । शिक्षकहरु आन्दोलनमा गएपछि विद्यालयका कामकाज ठप्प छन् । सिद्धार्थनगरका नगर प्रमुख इश्तियाक अहमद खाँले मंगलबार विज्ञप्ती जारी गर्दै आन्दोलनरत शिक्षकको जायज माग सम्बोधन गर्न आग्रह गरेका हुन् ।

Advertisement

लामो समयदेखि शिक्षकहरु आन्दोलित हुँदा नतिजा प्रकाशन तथा नयाँ शैक्षिकसत्रको भर्ना अभियानलाई समेत असर परेको उल्लेख गर्दै उनले जायज र बिगतमा भएका सम्झौताहरुको कार्यान्वयन गरी शिक्षकहरुलाई काममा फर्कने वाताबरण निमार्ण गर्न सरकारसँग आग्रह गरेका हुन् ।

सविधान सभा सदस्य समेत रहेका नगर प्रमुख खाँले विद्यालय शिक्षा ऐन २०८० को मस्यौदामा शिक्षकहरूका मागहरू समावेश नभएको, शिक्षकहरूको स्थायित्व, सेवा सुविधा, सरुवा–बढुवा जस्ता विषयमा विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन नभएको र ती सहमति बारम्बार उल्लंघन भएको ठहर गरी नेपाल शिक्षक महासंघले २०८१ चैत्र २० गते देखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएकोले यसबाट सिद्धार्थनगर नगरपालिका भित्रका विद्यालयहरूको शैक्षिक शत्र २०८१ नतिजा प्रकाशन, शैक्षिक शत्र २०८२ को भर्ना अभियान लगायतका शैक्षिक गतिविधिहरू प्रभावित भएको समेत जनाएका छन् ।

‘यस्तो अवस्थामा नेपाल सरकारलाई शिक्षक महासंघका बिगतमा भएका सम्झौता अनुरुप जायज मागहरूलाई गम्भीरतापूर्वक विचार गरी शीघ्र प्रक्रियाद्वारा विद्यालय शिक्षा ऐन जारि गरी समस्या समाधान गर्न अनुरोध गर्दछु,’ उनले जारी गरेको बिज्ञप्तिमा भनिएको छ, ‘शिक्षा क्षेत्रको स्थायित्व र प्रगतिको लागि शिक्षकहरुको आत्मसम्मान कायम राख्दै आफ्नो कर्मथलो फर्कने उचित वातावरण निर्माणका लागि नेपाल सरकारलाई हार्दिक अनुरोध गर्दछु ।’ उनले वार्ता र सम्वादका माध्यमवाट समस्याको समाधान निकाल्न दुवै पक्षलाई आग्रह समेत गरेका छन् ।