कपिलवस्तुमा नसर्ने रोगको अवस्था जटिल

कपिलवस्तु– कपिलवस्तुमा सर्नेभन्दा नसर्ने रोगको अवस्था जटिल बन्दै गएको छ । स्वास्थ्य कार्यालयद्वारा आयोजित सचेतनामूलक कार्यक्रममा कपिलवस्तुमा नसर्ने रोगका रुपमा रहेको मुटु, श्वासप्रश्वास र क्यान्सरबाट सचेतना अभावमा बर्सेनि धेरै जनाको मृत्यु भइरहेको स्वास्थ्य कार्यालय प्रमुख गौरब ढकालले बताए ।
सन् १९९० मा क्षयरोगका कारण सबैभन्दा बढी मृत्यु हुने गरेको भए पनि सन् २०१९ को तथ्यांकले सबैभन्दा बढी नसर्ने रोगका कारण मृत्यु भएको स्वास्थ्य कार्यालयका मलेरिया निरीक्षक रत्नलाल शर्माले बताए । नसर्ने रोगहरुमध्ये सबैभन्दा बढी मुटुरोग, क्यान्सर, श्वासप्रश्वासको दमजन्य संक्रमण, क्षयरोग र मधुमेहका कारण धेरै बिरामीको मृत्यु हुन थालेको उनले बताए ।
नसर्ने संक्रमणको जोखिम कम गर्न मदिराजन्य पदार्थ सेवन रोक्नु पर्ने, शारीरिक व्यायामलाई प्राथमिकता दिनु पर्ने, नुन र चिनीको सेवन घटाउनु पर्ने, सुर्तिजन्य पदार्थको सेवन नगर्ने र तरकारी तथा फलफूलजन्य खानाको प्रयोगमा ध्यान पुर्याउनु पर्ने शर्माले बताए । नसर्ने रोग लाग्न नदिनका लागि जीवनशैली, आहार र व्यायाममा सुधार गर्नुपर्ने उनले बताए । नसर्ने रोगका मुख्य कारण खानपान र जीवनशैली नै भएको बताइन्छ ।
विश्व स्वास्थ्य संगठनको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको सन् २०१९ मा एउटा विस्तृत तथा देशव्यापी अध्ययन गरको थियो । त्यसको अर्को वर्ष प्रकाशित अध्ययन प्रतिवेदनअनुसार नेपालमा ७१ प्रतिशत मृत्युको कारण नसर्ने रोग देखिएको छ । मृत्युको कारणमध्ये ७१ प्रतिशत नसर्ने रोग र झन्डै ८ प्रतिशत सवारी दुर्घटना देखिएको कपिलवस्तु अस्पतालका मेडिकल अधिकृत डा. मुकेश चौधरीले बताए ।
प्रतिकृया दिनुहोस्