May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

कपिलवस्तुमा नसर्ने रोगको अवस्था जटिल

Advertisement

कपिलवस्तु– कपिलवस्तुमा सर्नेभन्दा नसर्ने रोगको अवस्था जटिल बन्दै गएको छ । स्वास्थ्य कार्यालयद्वारा आयोजित सचेतनामूलक कार्यक्रममा कपिलवस्तुमा नसर्ने रोगका रुपमा रहेको मुटु, श्वासप्रश्वास र क्यान्सरबाट सचेतना अभावमा बर्सेनि धेरै जनाको मृत्यु भइरहेको स्वास्थ्य कार्यालय प्रमुख गौरब ढकालले बताए ।

Advertisement

सन् १९९० मा क्षयरोगका कारण सबैभन्दा बढी मृत्यु हुने गरेको भए पनि सन् २०१९ को तथ्यांकले सबैभन्दा बढी नसर्ने रोगका कारण मृत्यु भएको स्वास्थ्य कार्यालयका मलेरिया निरीक्षक रत्नलाल शर्माले बताए । नसर्ने रोगहरुमध्ये सबैभन्दा बढी मुटुरोग, क्यान्सर, श्वासप्रश्वासको दमजन्य संक्रमण, क्षयरोग र मधुमेहका कारण धेरै बिरामीको मृत्यु हुन थालेको उनले बताए ।

नसर्ने संक्रमणको जोखिम कम गर्न मदिराजन्य पदार्थ सेवन रोक्नु पर्ने, शारीरिक व्यायामलाई प्राथमिकता दिनु पर्ने, नुन र चिनीको सेवन घटाउनु पर्ने, सुर्तिजन्य पदार्थको सेवन नगर्ने र तरकारी तथा फलफूलजन्य खानाको प्रयोगमा ध्यान पुर्याउनु पर्ने शर्माले बताए । नसर्ने रोग लाग्न नदिनका लागि जीवनशैली, आहार र व्यायाममा सुधार गर्नुपर्ने उनले बताए । नसर्ने रोगका मुख्य कारण खानपान र जीवनशैली नै भएको बताइन्छ ।

विश्व स्वास्थ्य संगठनको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको सन् २०१९ मा एउटा विस्तृत तथा देशव्यापी अध्ययन गरको थियो । त्यसको अर्को वर्ष प्रकाशित अध्ययन प्रतिवेदनअनुसार नेपालमा ७१ प्रतिशत मृत्युको कारण नसर्ने रोग देखिएको छ । मृत्युको कारणमध्ये ७१ प्रतिशत नसर्ने रोग र झन्डै ८ प्रतिशत सवारी दुर्घटना देखिएको कपिलवस्तु अस्पतालका मेडिकल अधिकृत डा. मुकेश चौधरीले बताए ।