April 22, 2025, Tuesday
२०८२ बैशाख ९

गुुलरियामा अवैध स्वास्थ्य संस्थाको बिगबिगी

भैरहवा– स्थानीय तह, जिल्ला प्रशासन, जिल्ला स्वास्थ्य कार्यालय लगायतका सम्बन्धित सरोकारवाला निकायले प्रभावकारी भूमिका निभाउन नसक्दा हरेक जिल्लामा मापदण्ड पुरा नगरि अस्पताल तथा स्वास्थ्य क्लिनिक संचालन गर्ने क्रम बढ्दो छ ।

Advertisement

जसरी भए पनि पैसा कमाइहाल्ने नियतले अस्पताल लगायत स्वास्थ्य संस्था संचालन गर्नेहरुमाथि एकाध बाहेक उचित कारवाही भएको पाइँदैन । नियमित अनुगमन र नियमन गर्ने सम्बन्धित निकायहरु कारवाही गर्नेतर्फ अग्रसर रहेको पाइँदैन । साधनस्रोत र जनक्तिको अभावको बाहाना बनाउँदै सम्बन्धित निकायले अर्काको जिम्मामा लागाउँदै आफू पन्छिने प्रबृत्तिले यस्ता गलत कार्य मौलाइरहेका छन् ।

यस्तो गैरकानुनी कार्यबाट बर्दिया जिल्लाको सदरमुकाम गुलरिया पनि अछुतो छैन । बर्दियामा पनि अवैधरुपमा सञ्चालित अस्पताल, औषधि पसल र ल्याबहरूको नियमन हुन सकेको छैन । स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा समेत नियामक निकायहरूको लापरबाहीले मनपरी बढ्दो छ । व्यवसायीले मापदण्ड नपुर्याई आफूखुसी स्वास्थ्य संस्था र औषधि पसल खोलेर चलाएका छन् ।

सदरमुकाम गुलरियामा मात्रै यस्ता स्वास्थ्य संस्थाको संख्या ५३ रहेको खुलासा भएको छ । सदरमुकाममा मात्रै स्थानीय तह र लुम्बिनी प्रदेश स्वास्थ्य विभाग दुवैबाट इजाजत नलिई सञ्चालित ५३ वटा पोलिक्लिनिक, फार्मेसी, प्याथोलोजी लगायत निजी अस्पताल रहेको गुलरिया नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

अवैधरुपमा सञ्चालित ती संस्थाहरूलाई कारबाही भने भएको छैन । इजाजत र दर्ता प्रक्रिया नगरी करोड बढी लगानीमा सञ्चालनमा आएको सीटी अस्पताल सदुमुकाममै छ । गुलरिया नगरपालिका स्वास्थ्य कार्यालयका प्रमुख शिवकुमार चौधरीले ५३ वटा अवैधरुपमा सञ्चालन गरेकामध्ये ८ वटाको त नामसमेत नभएको बताए ।

चौधरीका अनुसार, गुलरिया नगरपालिका–११ गणेशपुरमा एक भारतीय नागरिकले समेत इजाजत नलिई क्लिनिक खोलेर सञ्चालन गरिरहेका छन् । नियमित अनुगमन नभएकाले अवैधरुपमा औषधि पसल खोल्नेको संख्या बढ्दै गएको छ ।

जिल्लाभरि नै यसरी अवैधरुपमा स्वास्थ्य संस्था सञ्चालन भएका छन् । तर नियामक निकायले अहिलेसम्म कारबाही गरेका छैनन् । न त तिनको अनुगमन गरी यकिन तथ्यांक नै निकालिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नारायणप्रसाद चौधरी मापदण्ड पुरा नगरि संचालित यस्ता स्वास्थ्य संस्थाको तथ्यांक लिने काम भइरहेको बताउँछन् ।