प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त


भैरहवा- नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त भएका छन् । उनी प्रहरीकाे ३१औं प्रमुख बनेका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गर्ने निर्णय गरेको हाे ।
सोमबार राति १२ बजेपछि ३० वर्षे सेवा अवधिका कारण ३०औं आईजीपी वसन्तबहादुर कुँवर अवकाशमा जाँदैछन् । त्यसको पूर्वसन्ध्यामा सरकारले थापालाई आईजीपीमा नियुक्त गरेको हो । प्रहरी प्रमुख बन्नका लागि थापासँगै एआईजी टेकबहादुर तामाङ र सुदीप गिरी प्रतिस्पर्धामा थिए । एआईजी थापा यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख थिए ।
कुँवरलाई सोमबार साँझ नै गृह मन्त्रालयले बिदाइसमेत गरिसकेको छ । उनकै ब्याचमेटहरू एआईजी टेकप्रसाद राई, बुद्धिराज गुरूङ, दुर्गा सिंह, कुवेर कडायत र जनक भट्टराई पनि अवकाशमा जानेछन् । भट्टराई गत फागुन १३ मा मात्र एआईजी बनेका हुन् । त्यस्तै डीआईजी ध्रुव राउत, भोला रावल र गणेश चन्दले पनि अवकाश पाएका छन् ।
नवनियुक्त प्रहरी महानिरीक्षक थापा २०५२ साल भदौ १९ गते इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । त्यस्तै उनी २०६३ भदौ ८ गते डीएसपी बने । २०७२ साउन ८ मा एसपी बनेका उनी २०७५ फागुन ६ मा एसएसपीमा बढुवा भए । त्यस्तै २०७९ असार १७ मा डीआईजी बनेका उनी २०७९ चैत ६ मा एआईजी बनेका थिए ।
नयाँ आईजीपीका लागि ३ जना एआईजी प्रतिस्पर्धामा थिए । थापा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख सुदिप गिरी र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख टेकबहादुर तामाङ आईजीपीको दौडमा थिए । नयाँ प्रहरी महानिरीक्षकको कार्यकाल २०८२ भदौ १८ सम्म करिब ६ महिना मात्र रहनेछ । ज्येष्ठता, कार्यदक्षता र कार्यसम्पादनको आधारमा थापा गिरी र तामाङभन्दा अगाडि थिए ।
प्रहरी सेवामा प्रवेश गरेपछि उनले इलाका प्रहरी कार्यालय, साँगा, बुटवल र रौतहटको गरुढामा नेतृत्व गर्ने अवसर पाएका छन् । प्रहरी वृत्त, महाराजगञ्जको पनि प्रमुख रही सकेका छन् भने उनले जिल्ला प्रहरी कार्यालय, रुकुम, खोटाङ, सुनसरी, मोरङ, मकवानपुर र चितवनको पनि कमाण्ड गरेका छन् ।
बुटवल तालिम केन्द्र र प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा समेत काम गरिसकेका थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत र बुटवल कार्यालयको प्रमुख भएर समेत काम गरेका छन् ।
एसएसपी छँदा उनले उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व गरेका छन् भने डीआईजी छँदा बागमती प्रदेश प्रहरीको नेतृत्व गरे । पछि प्रबन्ध निर्देशनालय, प्रशासन विभाग, उपत्यका प्रहरी कार्यालयको समेत उनले नेतृत्व गरे ।
३० वर्षे सेवा अवधि नहटे थापा ६ महिनापछि अवकाशमा जानेछन् । संसद्मा प्रहरी ऐनको प्रस्तावित विधेयक दर्ता छ । यो अवधिमा विधेयक पारित भए उनले थप ६ महिना प्रहरीको नेतृत्व गर्न पाउनेछन् ।








प्रतिकृया दिनुहोस्