नेपाल बाल कल्याण संस्थाद्वारा मर्चवारीमा स्वास्थ्य शिविर, ३९४ जना लाभान्वित


भैरहवा– दुर्गम र बिपन्न बस्ती–समुदायका बालबालिकालाई लक्षित गर्दै नेपाल बाल कल्याण संस्था, रुपन्देहीले जिल्लाको मर्चवारीमा बिशेषज्ञसहितको बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस, भैरहवाको प्राविधिक सहयोग र मर्चवारी गाउँपालिकाको सहकार्यमा मर्चवारी–७, श्रीरामपुरस्थित सरस्वती आधारभूत बिद्यालय परिसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । नेपाल बाल कल्याण सस्था, रुपन्देहीका अध्यक्ष बरिष्ठ अधिबक्ता धर्मबहादुर खड्काले बालवालिकाको पक्षमा केन्द्रित रहेर काम गर्दै आएको संस्थाले स्वास्थ्यमा राम्रो पहुँच नभएका दुर्गम र बिकट क्षेत्रका बालबालिकालाई लक्षित गरेर उक्त स्वास्थ्य शिविर संचालन गरिएको बताए ।
‘संस्थाको कार्यक्रम तथा योजनाहरुलाई सकेसम्म ग्रामीण र बिपन्न आर्थिक अवस्थाका परिवारलाई लक्षित गरेर समावेश गरिएका छन्’, खड्काले भने, ‘बिद्यालय जाने र बिद्यालय जानबाट बञ्चित रहेका बालवालिकालाइ लक्षित कार्यक्रम अनुरुप स्वास्थ्य शिविर संचालन गरिएको हो’, उनले भने, ‘ग्रामीण क्षेत्रका बिपन्न परिवारका बालबालिका लक्षित कार्यक्रमलाई संस्थाले निरन्तरता दिने छ ।’
सिमावर्ती त्यस क्षेत्रका बालबालिकालाई सामान्य औषधि उपचारका लागि पनि भारततर्फ जानु पर्ने बाध्यता छ भने अन्धविश्वासका कारण झारफुक र आधिकारिक उत्पादन बिनाको औषधिको जथाभावी प्रयोगको चलनले बालवालिका लगायतका त्यस क्षेत्रको मानव स्वास्थ्य जोखिममा पर्ने गरेको छ ।
स्वास्थ्य शिविरको शुभारम्भ गर्दै निवर्तमान प्रतिनिधि सभा सदस्य प्रमोदकुमार यादवले रुपन्देहीका धेरै ग्रामीण बस्तीका बालवालिका बिशेषज्ञ स्वास्थ्य सेवाबाट बञ्चित रहेको बताए । ‘त्यस्ता बालवालिका र मानव समुदायलाई यस खालको स्वास्थ्य शिविरले ठूलो सहयोग पुर्याउने गर्छ’, यादवले भने, ‘ग्रामीण क्षेत्रमा स्वास्थ्य जाँच र उपचारको साथसाथै जनचेतनाको आवश्यकता पनि उत्तिकै छ ।’

श्रीरामपुर, देवनगडिया, कञ्चनपुर, मञ्झरीया र कालाबञ्जर गाउँका नवजात शिशुदेखि १६ बर्ष उमेरसम्मका ३ सय ९४ जना बालवालिकालाई बिशेषज्ञ स्वास्थ्य जाँच र निःशुल्क औषधि बितरण गरिएको थियो । बालबालिका बाहेक त्यस क्षेत्रका युवा तथा बयस्क र बृद्ध महिला तथा पुरुष पनि सहभागी थिए ।
स्वास्थ्य शिविरमा युसीएमएस भैरहवाले ल्याव सेवा सहित बालरोग, नाक, मुख, घाँटी, दन्त, छाला तथा यौनरोग, फिजिसियन, आँखारोग बिशेषज्ञ सहित २४ जना चिकित्सक उपलब्ध गराएको थियो ।
युसीएमएसका मेडिकल सुपरिटेन्डेन्ट डा.सदनमुखिले नियमित स्वास्थ्य जांच र उपचारमा सवैले ध्यान दिन जरुरी रहेको बताए । लुम्बिनी प्रदेश सभा सदस्य कन्हैया बानियाले खानपान, जीवनशैली र बिषादीको बढ्दो प्रयोगले सानै उमेरमा पनि उच्च रक्तचाप, मधुमेह, हृदयघात, मष्तिस्कघात, पक्षघात र क्यान्सरको प्रकोप बढ्दो अवस्थामा रहेको बताए । कार्यक्रम संयोजक संगिता जीसीले बाल कल्याण संस्थाको नियमित मासिक क्यालेण्डर कार्यक्रम अनुरुप स्वास्थ्य शिविरको आयोजना गरिएको बताइन् ।








प्रतिकृया दिनुहोस्