प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय छनोटः नवलपरासी विजयी

भैरहवा– रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेश स्तरीय छनोट खेलमा पश्चिम नवलपरासीले कपिलवस्तुको टिमलाई ३० रनले पराजित गर्दै जित हात पारेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको नवलपरासीको टिमले निर्धारिता ५० ओभरमा ४६ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर १ सय ७१ रन बनायो । उसका लागि सम्राट भुसालले ४२, रन्जितकुमार खड्काले ३५, इकलाख वारिसले १९ र ओमकार यादवले १६ रनको योगदान दिए । बलिङमा कपिलवस्तुका राज अग्रहरीले ३, मोहम्मद हुसेन गद्दी, प्रयासदेव गैरे र शिव कुँवरले समान २–२ तथा महेश भरले १ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको कपिलवस्तु ४७ ओभरमा १ सय ४१ रन बनाउँदा अलआउट भयो र हार व्यहोर्यो । उसका लागि शिवशकुरमा मौर्यले २०, प्रतीक भट्टराई र रौनक श्रीवास्तवले समान १७–१७, रामजन अली धुनिया र शिव कुंवरले १४–१४ तथा राज अग्रहरीले १० रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङमा नवलपरासीका राजेन्द्रबहादुर बम, ओमकार यादव र शिशिर थापाले समान ३–३ तथा इकलाख अहमदले १ विकेट लिए । खेलमा राजेन्द्रबहादुर बम प्लेयर अफ द म्याच घोषित भए ।
प्रतिकृया दिनुहोस्