रुपन्देही अदालतमा थुनछेक बहसः रविले अन्तर्राष्ट्रिय कानुन ‘ह्वाइट कलर क्राइम’ गरेको जिकिर

भैरहवा– कानून व्यवसायीहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछाने अन्तर्राष्ट्रिय कानुन ‘ह्वाइट कलर क्राइम’ गरेको जिकिर गरेका छन् । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराध मुद्दा दायर भएपछि रुपन्देही जिल्ला अदालतमा बुधबारदेखि थुनछेक बहस चलिरहेको छ ।
बहसका क्रममा कानून व्यवसायीले रविलाई पुर्पक्षका लागि थुनामा राख्न माग गरिरहेका छन् । बहसका क्रममा अधिवक्ता शैलेन्द्रप्रसाद हरिजन (अम्बेडकर) ले अभियुक्त लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधका साथै ‘ह्वाइट कलर क्राइम’ समेत आर्कषित भएको भन्दै उक्त विषयमा व्याख्यासहितको बहस गरे ।
‘अभियुक्त पत्रकार भएर व्यक्तिगत फाइदाका लागि धोकाधडी गरी सहकारीको रकम आफैले लिएको र त्यसपछि दल दर्ता गरी राजनीतिमा होमिएर उक्त अपराधलाई शुद्धिकरण गर्न खोजेको देखिन्छ’, अधिवक्ता हरिजनले बहस गर्दै भने, ‘श्रीमान, यो ‘ह्वाइट कलर क्राइम’ हो ।’
‘ह्वाइट कलर क्राइम’ एक अहिंसात्मक अपराध हो । जुन प्रायः छल वा लुकाएर पैसा वा सम्पत्ति गुमाउन वा गुमाउनबाट बच्नको लागि वा व्यक्तिगत वा व्यापारिक फाइदा लिनका लागि चित्रण गरिन्छ । अपराधशास्त्रमा ‘ह्वाइट कलर क्राइम’ को अवधारणा पहिलो पटक सन् १९४१ मा सदरलैंडले अमेरिकन सोशियोलोजिकल रिव्यूमा ‘ह्वाइट कल क्रिमिनलिटी’मा आफ्नो शोधपत्र प्रकाशित गरेपछि आएको थियो ।
यसका साथै अधिवक्ता हरिजनले युरोपियन यूनियन, संयुक्त राष्ट्र संघिय संगठित अपराध अभिसन्धी २००२ को धारा २ पनि आर्कषित हुने र अभियुक्तको कार्य अपराध भएकोले पूर्पक्षका लागि थुनामा पठाउन आदेशको माग गरे । जिल्ला अदालत रुपन्देहीले अन्य सहकारीको रकम अपचलन भएको र ८४ लाख १२ हजार बढी बिगो मागदावी गरिएको ठगी मुद्दामा संचालकलाई पूर्पक्षका लागि थुनामा पठाएको विषय यस मुद्दामा नजरअन्दाज गर्न नमिल्ने विषय समेत उठान गरे ।
शुक्रवार भएको थुनछेक बहस नसकिएपछि आइतबार पनि हुँदैछ । न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा जाहेरवालाको तर्फबाट बहस सकिएको छ । त्यस्तै प्रतिवादी लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र थापाले निक्षेपकर्ताको बचत सुरक्षा गर्ने जिम्मा लामिछानेको नभई सहकारी संचालक भएको लगायत विषयमा बहस गरे । उनले सहकारीमा ऋणका लागि निवेदन नै नदिएको अवस्थामा पनि ऋणको रुपमा रकम निष्कासन भएकोले उक्त रकम आफ्नो पक्षले नभई सहकारी संचालकले अपचलन गरेको विषय समेत उठाए ।
आइतबार बिहान साढे १० बजे हाजिर हुने गरी लामिछानेलाई परिवार र कानुन व्यवसायीको जिम्मा जमानीमा पठाइएको जिल्ला अदालत रुपन्देहीका श्रेष्तेदार यज्ञमूर्ती ज्ञवालीले बताए । शुक्रवार जाहेरवाला र प्रतिवादीको तर्फका वकिलहरुले बहस गरेका थिए । सरकारी वकिलहरुको बिहीवार बहस गरिसकेका छन् । दुवै तर्फका कानुन व्यवसायीहरुको बहस सकिएपछि इजलासले पुर्पक्षाका लागि थुनामा पठाउने वा धरौटीमा छोड्ने वा साधरण तारेखमा राख्ने आदेश गर्नेछ ।
प्रतिकृया दिनुहोस्