लम्बियो रवि लामिछानेको थुनछेक बहस, थुनामै राख्न सरकारी वकिलको दलिल

भैरहवा- जिल्ला अदालत रुपन्देहीमा सहकारी ठगी प्रकरणमा रवि लामिछानेको थुनछेक बहस लम्बिने भएको छ । बुटवल स्थित सुप्रिम सहकारी ठगी प्रकरणको आरोप लागेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री लामिछानेको विहीबार भएको थुनछेक बहसमा सरकारी वकिल र पीडितका तर्फबाट गरी १० जनाले बहस गरेका छन् । जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा भएको बहसमा अझै पीडित र प्रतिवादी लामिछानेका तर्फबाट बहस बाँकी रहेको जिल्ला अदालत रुपन्देहीका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए ।
उनका अनुसार शुक्रबार बिहान साढे १० बजेबाट बहस शुरु हुनेछ । सरकारी वकिलका तर्फबाट उच्च सरकारी वकिलको कार्यालय बुटवलका प्रमुख सह–न्यायाधिवक्ता सोमकान्ता भण्डारी, प्रकाश मरासिनी, रवि न्यौपाने, जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख प्रेमराज पौडेल, न्यायाधीवक्ता गोकर्णराज घिमिरे, वसन्तराज पोखरेल लगायतले बहसमा भाग लिँदै रविले सहकारी ठगी गरेको आधार र प्रमाण प्रस्तुत गरे । शुरुमा सरकारी वकिलहरुले लामछानेलाइ जमानीमा छाडेको भन्दै बहसमा भाग नलिने बताएका थिए । तर, सरकारी वकिलले जेमा आपत्ती जनाएका थिए न्यायाधीश योगीले पुनः विहीबार पनि परिवार र वकिलहरुको जिम्मा छाडेका छन् ।
प्रहरीले सुप्रिम सहकारी रकम ठगीमा पहिलो चरणको अनुसन्धान गरेर गत वैशाख ३ मा लामिछाने, जोशीबाहेकका २८ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । लामिछानेसहितका १४ जनाविरुद्ध गत असोज ५ मा पूरक जाहेरी परेपछि इलाका प्रहरी कार्यालयले अनुसन्धान सकेर दर्जन बढी तथ्य र प्रमाणसहित पूरक अभियोग दर्ता गर्न सरकारी वकिल कार्यालयलाई सिफारिस गरेको थियो । दोस्रो चरणको अनुसन्धानपछि पहिलो चरणमा प्रतिवादीलाई पनि कसुर र बिगो थपेर प्रतिवादी बनाइएको छ ।
पूरक अभियोग पत्रमा जीवी राई, लामिछाने र जोशीका साथै कुमार रम्तेल, शिवबहादुर गुरुङ, लक्ष्मीप्रसाद पौडेल, दीपक लामा, अनन्तबाबु राई, श्रीवल्लभ नेपाल, शिवप्रसाद पौडेल, वीरबहादुर रानाभाट, विशाल तामाङ, रविना रिमाल, भगवती बम्जनलाई प्रतिवादी बनाइएको छ ।
रवि लामिछानेविरुद्ध व्यक्तिगत रूपमा २ करोड र सामूहिक रूपमा २ करोड गरी जम्मा ४ करोड रुपैयाँ बिगो दाबी गरिएको छ । २ करोड रुपैयाँको ऋण लामिछानेको नाममा भएको एक भौचरबाट पनि पुष्टि भएको थियो । यो ऋण १८ चैत २०७७ मा स्वीकृत भएको थियो र ४ लाख सेवा शुल्क कटाएर १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कको ग्लोबल आइएमई बैंकमार्फत जम्मा भएको थियो ।
प्रतिकृया दिनुहोस्