सवारी जाँचका क्रममा जथाभावी चावी नथुत्न अदालतको आदेश

भैरहवा– प्रहरी चेकिङका वेलामा कुनै बिषयमा सामान्य विवाद हुन थालेपछि चेकिङमा खटिएका प्रहरी तथा सुरक्षाकर्मीले सम्बन्धित व्यक्तिको सवारी साधनको सिधै चावी थुतिदिने गरेको घटनाको भुक्तभोगी धेरैजना छन् ।
कतिपय सुरक्षाकर्मीले त सवारी साधनको चावी खोसीदिएपछि एकातिर हिँडिदिने र चावी माग्दै ति सुरक्षाकर्मीको पछिपछि सवारीसाधन धनि हिँड्ने गरेका हुन्छन् । अर्थात् खोसिएको आफ्नो सवारी साधनको चावी माग्दै ति सुरक्षाकर्मीसँग हात जोडेर बिन्तीभाउ गर्न विवश हुने गर्छन् ।
तर, यस खालको कार्यकाबिरुद्ध एउटा अदालतले भने ट्राफिक प्रहरीलाई निर्देशनात्मक आदेश दिएको छ । अदालतको उक्त आदेशपछि सडकमा चेकजाँचका क्रममा सुरक्षार्कीबाट हुने गरेका यस खालका कार्य निरुत्साहित हुने बिश्वास लिइएको छ ।
सवारी जाँचका क्रममा ट्राफिक प्रहरीले कानुनविपरीत जथाभाबी चाबी थुत्ने र सर्वसाधारणलाई दुःख दिने भन्दै परेको निवेदनका आधारमा पाटन उच्च अदालतका न्यायाधीश चन्द्रमणि ज्ञवाली र कविप्रसाद न्यौपाने इजलासले यस्तो गर्न नहुने भनी निर्देशनात्मक आदेश दिएको हो ।
व्यक्तिगत सम्पत्ति र दुःख दिने नियतले गरिने यस्ता कार्य नगर्न र कानुन बमोजिम मात्र कार्य गर्न प्रहरीलाई आदेशमा भनेको छ । सडक बिचमा बसेर विदेशी पर्यटकको समेत चाबी खोसेपछि प्रहरी विवादित समेत बनेको थियो ।
कात्तिक २१ गते पाटन उच्च अदालतमा ट्राफिक प्रहरीले सवारी चालकको चाबी खोस्ने कार्यविरुद्ध रिट दायर भएको थियो । प्रहरीले सवारी चालकको गाडीको चाबी खोस्ने जस्तो कार्य गैर कानुनी हो र तत्काल यसलाई रोक लगाउनुपर्छ भन्दै विवेक चौधरीले पाटन उच्च अदालतमा रिट दायर गरेका थिए ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ प्रहरीले तत्काल सजाय गर्न सक्ने प्रावधान छ र दफा १६० मा दण्ड सजायको प्रावधान रहे पनि जथाभाबी गरेको निवेदनमा उल्लेख छ ।
यस्तो कार्यले नेपालको संविधानको धारा १७ मा प्रत्याभूत गरिएको स्वतन्त्रताको हकको समेत उल्लङ्घन हुन जाने भन्दै कानुन अनुसार मात्र गर्न ट्राफिक प्रहरीलाई अदालतको निर्देशनात्मक आदेश छ ।
सवारी चालकको चाबी खोस्ने, जबरजस्ती निकाल्ने जस्तो कार्य गरिदा सम्बन्धित सवारी धनिको गरिमा र अनावश्यक राज्य हस्तक्षेपले स्वतन्त्र जीवन बाच्ने अधिकारमा हानि पुर्याउने अवस्थाको सृजना गर्ने व्याख्या गरिएको छ । यो कार्य स्वतः रूपमा नेपालको संविधानको धारा १६ को विपरीत हुने र जसले गर्दा नागरिकको सम्मानपूर्वक बाच्न पाउने हकको हनन हुने अवस्थाको सिर्जना गर्ने देखिन्छ ।
प्रतिकृया दिनुहोस्