संघीताबारे गलत ढंगले प्रचारबाजी भइरहेको छ, यसलाई चिर्नपर्छः प्रदेश प्रमुख मियाँ

अर्घाखाँची– सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले सङ्घीयताबारे गलत ढंगले प्रचारबाजी भइरहेकाले यसलाई चिर्न सञ्चार जगत लाग्नु पर्ने बताएका छन् । गृह जिल्ला अर्घाखाँची आएका प्रदेश प्रमुख मियाँले संघीयता कार्यान्वयनको दायित्व सबै निकायको रहेको बताए ।
देशका ठुलाठुला परिवर्तनमा सञ्चार क्षेत्रले महत्त्वपूर्ण योगदान गरेको स्मरण गर्दै उनले सङ्घीयता कार्यान्वयनको चरणमा पनि सञ्चार माध्यमहरू सकारात्मक ढंगले लाग्नुपर्ने बताए । ‘सञ्चार क्षेत्रको विगतमा पनि उल्लेख्य भूमिका छ,’ उनले भने, ‘सङ्घीयताबारे नकारात्मक प्रचारबाजी भएका छन् । त्यसलाई सञ्चार जगतले चिर्नुपर्छ ।’
कुनै एक तह वा एक निकाय लागेर सङ्घीयताको पूर्ण कार्यान्वयन नहुने भएकाले सबै आ–आफ्नो ठाउँबाट लाग्नु पर्ने उनको भनाई थियो । सङ्घीयताका बेफाइदाहरू देखाएर धावा बोल्ने काम भएको भन्दै यसका फाइदाहरू ओझेलमा पारिएको बताए । सङ्घीयताले गाउँ गाउँमा विकासको आभास दिलाएको भन्दै केन्द्रीकृत शासन प्रणाली उत्तम नहुने बताए ।
तहगत सरकार हुँदा दूर दराजका नागरिकले त्यसको फाइदा लिएको भन्दै मियाँले पहिल्यै अभ्यास गरेर फालिएको केन्द्रीकृत शासन प्रणाली फेरी ल्याउने सम्भावना नरहेको स्पष्ट पारे । सबै क्षेत्रलाई समेटी बनाएको संविधान उत्कृष्ट रहेको समेत प्रदेश प्रमुख मियाँले बताए।
पत्रकारहरूसँग कुरा गर्दै प्रमुख मियाँले सुदूरपश्चिम प्रदेश सरकार आफू गएपछि व्यवस्थित भएको बताए । ,उनले भने,‘म गएपछि केही नयाँ अभ्यासहरू ग¥यौं र केही व्यवस्थित भएको छ ।’
प्रतिकृया दिनुहोस्