तिलोत्तमाको छैठौं अधिवेशन, सर्वसम्मतले प्रस्ताव पारित

तिलोत्तमा– रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दोस्रो नगर सभाको छैठौं अधिवेशन विभिन्न ऐन पास गर्दै सम्पन्न भएको छ । नगर प्रमुख रामकृष्ण खाँणका अनुसार बैठकले नगरपालिकाको आर्थिक ऐन, २०८१ (प्रथम संशोधन २०८१) पारित गरेको छ । त्यस्तै नगरपालिकाको विभिन्न बाँकी रहेका कार्यपालिकाका निर्णयहरु सर्वसम्मतले पारित गरेको छ । सुशासन तथा संस्थागत बिकास समितिका संयोजक तथा कार्यपालिका सदस्य राधा शाहीले प्रस्तुत गरेका कार्यपालिकाका निर्णयहरु सर्वसम्मत पास भएको हो ।
नगर सभामा नगरपालिकाका उपप्रमुख जागेश्वरदेवी चौधरीले प्रस्तुत गरेको आर्थिकऐन,२०८१ (प्रथम संशोधन २०८१) र न्यायिक समितिको प्रतिबेदन समेत सर्वसम्मतले पारित भएको छ । सभाले व्यवसाय करसँग सम्बन्धित विषयका प्रस्तावहरु र सम्पत्ति कर तथा भूमि करसँग सम्बन्धित प्रस्तावहरु समेत पारित गरेको छ । प्रस्तावित विषयका बारेमा नगर सभा सदस्य तथा वडा नम्बर ४ का वडासदस्य मित्रलाल न्यौपानेले न्यायिक निरुपण र नदिजन्य पदार्थका बिषयमा आफ्नो राय राखेका थिए ।
नगरसभाले तिलोत्तमाका हालसम्मका कार्यपालिकाका निर्णयहरुमा आएका जिज्ञासा तथा प्रश्नहरुको जवाफ तथा सहजीकरण उपप्रमुख जगेश्वरदेवि चौधरी र नगरप्रमुख खाणले गरेका थिए । नगरसभाले गरेको विभिन्न निर्णयको बारेमा रहेका जिज्ञासा र सुझावसहित कार्यपालिका सदस्य, नगरसभाका सदस्यहरुले राखेकोे भनाई र नगरको प्रशासनिक नीतिको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले आबश्यक सहजीकरण गरेका थिए ।
नगरसभामा सबै वडाध्यक्ष एबम् कार्यपालिका सदस्य, नगरसभा सदस्य तथा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्य, प्रशासन योजना तथा अनुगमन शाखा प्रमुख माधव पोखरेल, लेखा प्रमुख रमेश बश्याल, सूचना प्रबिधि प्रमुख ई.सुदिप ढकाल लगायत बिषयगत कर्मचारीहरुको प्रतिनिधिमूलक सहभागिता थियो ।
प्रतिकृया दिनुहोस्