January 13, 2025, Monday
२०८१ माघ १

सामूहिक महोत्सवः विभिन्न विधामा प्रतिस्पर्धा जारी

भैरहवा– सामूहिक विद्यालय परिवार, रुपन्देहीको आयोजनामा भैरहवामा जारी २३औँ सामूहिक खेलकुद महोत्सव–२०८१ को दोस्रो दिनका खेलहरू सम्पन्न भएका छन् । चार दिनको खेलकुद महोत्सवको दोस्रो दिनका खेलहरू बिहीबार सम्पन्न भएका हुन् । मङ्सिर २६ गतेदेखि सुरु भएको खेल महोत्सवको दोस्रो दिन सब जुनियरतर्फ १०० मिटर दौड, रिले हिट्स, लङजम खेल भएका छन् ।

Advertisement

यस्तै, जुनियरतर्फ १०० मिटर दौड, २०० मिटर दौड, ४०० मिटर दौड, लङजम्प र सिनियरतर्फ १०० मिटर दौड २०० मिटर दौड, लङजम्प र भलिबल खेलहरु भएका छन् । एथ्लेटिक्सतर्फका सम्पूर्ण खेल पक्लिहवा कृषि क्याम्पसमा भएको थियो भने भलिबल खेल पक्लिहवा माविमा भएको हो ।

‘स्वास्थ्यका लागि खेलकुद, जीवनका लागि खेलकुद’ भन्ने मूल नाराका साथ विद्यार्थीहरूलाई शारीरिक र मानसिक रुपमा स्वास्थ्य राख्नु तथा उनीहरूमा भएको प्रतिभालाई प्रस्फुटन गराउनु खेल महोत्सवको उद्देश्य रहेको आयोजक संस्थाले जनाएको छ । सामूहिक विद्यालय परिवार रूपन्देहीले विद्यार्थीमा भएको अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले २०५९ सालदेखि नै विभिन्न कार्यक्रमहरू गर्दै आएको परिवारका अध्यक्ष वसन्त पाण्डेले बताए ।

उनले शिक्षाका साथै खेलकुद र सामाजिक क्रियाकलापमा पनि उत्तरदायित्व बहन गर्दै सामूहिक विद्यालय परिवार, रूपन्देहीले वर्षेनि विविध कार्यक्रमहरू आयोजना गर्दै आएको बताए । कक्षा १ देखि ३ सम्मको सब जुनियर, कक्षा ४ देखि ६ सम्मको जुनियर र कक्षा ७ देखि १० सम्मको सिनियर गरी तीन तहमा हुने प्रतियोगितालाई छात्र र छात्रा गरी दुई विधामा प्रतियोगिता भैरहेका छन् ।

मङ्सिर २६ देखि २९ मंसिरसम्म हुने चार दिने खेल महोत्सवमा पचास मिटरदेखि आठ सय मिटरसम्मका दौड, भलिबल, सय गुणे चार रिले दौड, लङजम्प र सटपुट खेलहरू हुने आयोजकले जानकारी दिएका छन् ।

खेल महोत्सवमा १ हजार ३ सय विद्यार्थीहरू सहभागी छन् । संस्थामा जिल्लाका सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका, मायादेवी, ओमसतिया र रोहिणी गाउँपालिकामा पर्ने २० विद्यालय सदस्य छन् ।