स्व.शेरबहादुर सेन्चुरी टी–२० क्रिकेटः न्यु होराइजन र देबदह बुद्ध विजयी
भैरहवा– रुपन्देहीको भैरहवामा जारी ११औं संस्करणको ‘स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’मा मंगलबार भएका दुई खेलमा न्यु होराइजन इङ्गलिस बोर्डिङ स्कूल र देवदह बुद्ध हाई स्कूल विजयी भएका छन् । न्यु होराइजनले एभरेष्ट इङ्गलिस बोर्डिङ स्कूललाई ९ विकेट र देवदह बुद्धले बुद्धज्योति हाई स्कूललाई ७ विकेले पराजित गर्दै जित निकालेका हुन् ।
भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको एभरेष्टले मौसमका कारण १७ ओभरमा छोट्याइएको खेलमा ८ विकेटको क्षतिमा जम्मा ५९ रन बनायो । उसका लागि सुशांक घिमिरे र अनमोल पुनले समान १० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । बलिङमा उसलाई सस्तैमा रोक्न न्यु होराइजनका सुप्रिम कँडेल र निरज घिमिरेले ३–३ तथा अनिष भट्टराई र राहुल नाउले समान १–१ विकेट लिए ।
६० रनको सामान्य लक्ष्य पछ्याएको न्यु होराइजनले ७ ओभर २ बलमा १ विकेटको नोक्सानीमा लक्ष्य पूरा गर्दै सहजै जित दर्ज गर्यो । उसको जितमा राहुल नाउले अविजित ४४ र अनुप न्यौपानेले नटआउट १२ रनको योगदान दिए । बलिङमा एभरेष्टका रोजन रेग्मीले १ विकेट लिए । खेलमा सुप्रिम कँडेल प्लेयर अफ द म्याच भई पाँच सय रुपैयाँ प्राप्त गरे ।
दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको बुद्धज्योतिले १५ ओभर ४ बलमा सबै विकेट गुमाएर ८० रन बनायो । उसका लागि मनोज यादवले २२ र हम्जा खानले १० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन समेत बनाउन सकेनन् । बलिङमा देवदह बुद्धका कृष केसीले ४ ओभरमा २६ रन खर्चेर ५ विकेट लिए । यस्तै, रोहित कुँवरले ३ तथा रोहन कुँवरले २ विकेट हात पारे ।
जवाफी ब्याटिङ गरेको देवदह बुद्धले १० ओभरमा ३ विकेटको नोक्सानीमा ८१ रन बनाउँदै सहज जित निकाल्यो । उसको जितमा विनय कार्कीले ३२, आयुष पाण्डेले अविजित १४ र कृष केसीले नटआउट ११ रन बनाए । बलिङमा बुद्धज्योतिका अभिषेक पाण्डे, आदित्य थापा र निश्चल शर्माले समान १–१ विकेट लिए । कृष केसी प्लेयर अफ द म्याच भई पाँच सय रुपैयाँ प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजना र पर्वत ज्वेलर्स, बैंकरोड, भैरहवाको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले ५० हजार, उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजले १० हजार, बेष्ट ब्याटर र बेष्ट बलरले जनही ५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले ५ सय तथा बेष्ट अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक भरत थापाले बताए । पुस २ गतेसम्म चल्ने प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयका २३ टिम सहभागी छन् ।
प्रतिकृया दिनुहोस्