January 13, 2025, Monday
२०८१ माघ १

गाउँको समस्या लिएर किशोरीहरु मुख्यमन्त्रीकहाँ, सहयोग गर्ने प्रतिबद्धता

दाङ– रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिकाका किशोरीहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेट गर्दै समुदायका समस्या सुनाएका छन् । सोमवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा भेट गर्दै किशोरीहले गाउँ समाजमा आफूहरुले भोगिरहेका समस्या मुख्यमन्त्री आचार्यलाई सुनाएका हुन् । उनीहरुले उज्ज्वल भविष्य र बलियो अभियान सञ्चालनको लागि १७ बुँदे माग पत्र मुख्यमन्त्री आचार्यलाई पेश गरेका हुन् ।

Advertisement

मुख्मन्त्री आचार्यले किशोरीहरुले राखेका समस्यालाई प्रदेश सरकारले सम्वोधन गर्ने प्रतिबद्धता जनाए । किशोरीहरुले थालेको अभियानमा प्रदेश सरकारले साथ दिने बताउँदै उनले किशोर किशोरीहरुको स्वास्थ्य, शिक्षा लगायत मनोसामाजिक क्षेत्रमा सहयोग पुर्याउने गरी कार्यक्रम बनाएको जानकारी दिए । समुदाय केन्द्रित जनजागरण अभियानहरुलाई तिब्रता दिन, त्यस अभियानहरुमा किशोरकिशोरीको सहभागिता सुनिश्चित गरिने पनि बताए । ‘तपाईँहरुले उठाएका मागहरु प्रदेश सरकारले सुन्छ । बालविवाहमुक्त प्रदेश बनाउने अभियानमा यहाँहरुको साथसहयोग चाहिन्छ’, उनले भने, ‘बनेका नीति, नियम तथा कानुनहरुको कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ ।’

बालविवाहको समस्या समाधान गर्न जनजागरणको अभियानलाई तिब्र पार्नुपर्ने बताए । नीतिगत रुपमा प्रदेश सरकारले सम्वोधन गरेको र छुटेका बिषयलाई आगामी दिनमा सम्वोधन गरिने पनि उनले बताए । पुथाउत्तरगंगामा विकास र समृद्धि पुर्याउन प्रदेश सरकारले प्राथमिकतामा राखेको जनाए । ‘त्यस क्षेत्रको विकास नगरेसम्म समग्र लुम्बिनी प्रदेशको विकास हुन सक्दैन भन्ने कुरामा प्रदेश सरकार जानकार छ’, उनले भने, ‘पुथाउत्तरगंगादेखि मर्चवारसम्मलाई माथि उठाउन सक्यौं भने प्रदेशको समग्र विकास भएको मानिने छ । यस दिशामा सरकार अघि बढेको छ ।’ भूगोलबाट पछाडी परेको, जनचेतनाको अभावले पनि पछाडी परेका क्षेत्रको पहिचान गरेर प्रदेश सरकारले काम गर्ने जानकारी दिए ।

समुदायमा अझैं पनि जातीय छुवाछुत, दाईजो प्रथा, बोक्सीको आरोप लगाउने, छोट्टी बस्ने, बहुविवाह गर्ने जस्ता समाजिक र सांस्कृति परम्पराको नाममा हुने हिंसा अन्त्यका लागि प्रदेश सरकारले भूमिका बढाउनुपर्ने किशोरीहरुले माग राखेका छन् । पुथाउत्तरगंगका बालबालिका र विशेष गरी युवाहरुमा लागूऔषधको प्रयोग र मदिरा सेवन बढिरहेको भन्दै यसले घरेलु हिंसा, यौन दुव्र्यवहार र छोट्टी बस्ने जस्ता समाजिक अपराधहरु पनि बढाउने भएकाले समस्या समाधानकालागि बृहत जनचेतनामूलक अभियान चलाउन माग राखिएको छ ।

स्वास्थ्य चौकीको स्थापना र सहज उपचारसेवादेखि खेलक्षेत्रको विकासका लागि खेलकुद मैदान, खेल सामाग्रीको व्यवस्था गर्न माग राखेका छन् । घर र विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्था गर्नुपर्ने, बालबालिका र जेष्ठ नागरिकहरुलाई समाजिक सुरक्षा भत्ताको व्यवस्था भए तापनि त्यो भत्ता समयमा आइनपुग्ने, महिला, बालबालिका, एकल महिला, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, यौनिक तथा लैङ्गिक अल्पसख्यक र अतिविपन्नलाई सहज तरिकाले मासिक भत्तालिने व्यवस्था मिलाउनुपर्ने माग राखिएको छ । मुख्यमन्त्रीलाई समस्या सुनाउन किशोरी सञ्जालमा आवद्ध स्मृति सेन, प्रतिमा पुन, आरती घर्ती, समृद्धि बुढा, सुप्रिया घर्ती लगायत यहाँ आएका थिए ।