January 13, 2025, Monday
२०८१ माघ १

प्रदेशमा खेलकुदका पूर्वाधार विकासमा सरकार प्रतिबद्ध छः मुख्यमन्त्री आचार्य

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले क्रिकेट खेलको विकास तथा आधारभूत पूर्वाधार निर्माण र स्तरोन्नतीका लागि प्रदेश सरकारले पहल लिने बताएका छन् । खेलको आधारभूत संरचना निर्माण, प्रशिक्षण केन्द्र देखि समुदायस्तरमा खेलाडी उत्पादन लगायतका कामलाई अघि बढाउन र खेल अवसरहरुको सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको उनले जनाए ।

Advertisement

अर्घाखाँची क्रिकेट संघका अध्यक्ष ऋषि भट्टराईको नेतृत्वमा रहेको एक प्रतिनिधि मण्डलसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा बुधवार भएको भेटमा मुख्यमन्त्री आचार्यले क्रिकेट मैदान, प्रशिक्षण केन्द्र, खेल पूर्वाधारको विकास र स्तरोन्नतीका लागि प्रदेश सरकारले पहल लिने विश्वास दिलाए ।

‘क्रिकेट खेलको विकासका लागि प्रदेश सरकारले आधारभूत संरचना विकासमा ध्यान दिन्छ’, उनले भने, ‘हाम्रो प्रदेशमा क्रिकेट खेलप्रति युवा खेलाडीहरुको बढ्दो आकर्षण र अवसरले सरकार पनि उत्साहित छ । खेल क्षेत्रको विकास, खेलाडी उत्पादन र क्षमता विकासका लागि गर्नुपर्ने कामहरु अघि बढाउँछौं ।’
विद्यालयतहमा क्रिकेट खेल प्रशिक्षण कार्यक्रमहरु चलाउने र युवा खेलाडी प्रतिभाहरुको खोजी गर्न जरुरी रहेको मुख्यमन्त्रीले जनाए।

मुख्यमन्त्री आचार्यले क्रिकेट खेलसँगै अन्य खेल क्षेत्रको विकासका लागि पनि प्रदेश सरकारले समान रुपमा प्राथमिकता दिने, पूर्वाधार निर्माण गर्ने र खेल अवसरहरुको खोजी गर्ने जनाए। अर्घाखाँची जिल्लामा माघ १ गतेदेखि पाँचौं अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेट प्रतियोगिता हुँदैछ । यो प्रतियोगिता सम्वन्धमा क्रिकेट संघका अध्यक्ष भट्टराईले मुख्यमन्त्री आचार्यलाई जानकारी गराएका थिए । प्रतिनिधि मण्डलले प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरणदाज गौतमलाई समेत भेट गर्दै खेल प्रतियोगिताको बारेमा जानकारी दिएको छ ।