July 11, 2026, Saturday
२०८३ असार २८ आईतवार

भैरहवाको श्रीकृष्ण नेत्रालयद्वारा म्याग्दीका बिपन्न आँखाका बिरामीलाई निःशुल्क उपचार

Advertisement

भैरहवा– दुर्गम र बिकट क्षेत्रका आर्थिक बिपन्न आँखाका बिरामीलाई गुणस्तरीय उपचार सेवा उपलब्ध गराउन श्रीकृष्ण नेत्रालय प्रालिले निःशुल्क उपचार सेवा संचालनलाई निरन्तरता दिँदै बिस्तार गर्दै लगेको छ । श्रीकृष्ण नेत्रालयले भैरहवामा मुख्य अस्पताल संचालन गरि बर्षेनि हजारौं स्वदेशी तथा बिदेशी आँखाका बिरामीलाई गुणस्तरीय उपचार सेवा पुर्याउँदै आएको छ ।

Advertisement

उक्त नेत्रालयले पछिल्लो पटक म्याग्दी जिल्लाको अन्नपूर्ण गाविस–३, दानामा दुई दिने निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर संचालन गरि बिकट क्षेत्रका सयौं आँखाका बिरामीलाई लाभान्वित तुल्याएको छ ।

फ्रेन्डली ब्रदर्स दाना सेरोफेरो कम्युनिटी युकेको आयोजनामा श्रीकृष्ण नेत्रालय प्रालि भैरहवाले नेत्र चिकित्सकसहितको प्राविधिक सहयोग उपलब्ध गराएर गत कात्तिक १ र मंसिर १ गते आँखा शिविर संचालन गरिएको अस्पतालका व्यवस्थापक आमोद सिंहले बताए ।

सिंहका अनुसार, शिबिरमा ४ सय ८३ जनाको आखाको जाँच गरिएको थियो । ३६ जनाको आँखाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । शल्यक्रिया अस्पतालकी बरिष्ठ नेत्र चिकित्सक तथा प्रमुख मेडिकल निर्देशक सलमा केसीसहितको टिमले गरेको थियो ।

‘आँखा शिविरमा म्याग्दी लगायत आसपासका जिल्लाका दुर्गम तथा बिकट बस्तीहरुबाट बोकिएर उपचारका लागि आउने बिरामीको संख्या पनि धेरै थियो’, सिंहले भने, ‘यस खालको उपचार तथा शिविर फेरि पनि संचालन गर्नु पर्ने माग स्थानीयले गरेका छन् ।’
उनले ‘कोही नपुगेको ठाउँमा हामी पुग्ने’ भन्ने अस्पतालको सामाजिक सिद्धान्त र उद्देश्य अनुरुप उक्त स्थानमा आँखा शिविर मार्फत् सेवा उपलब्ध गराइको बताए ।

आयोजक फ्रेन्डली ब्रदर्स दाना सेरोफेरो कम्युनिटीका प्रतिनिधि बलपुर्जा मगर र चिकित्सक सुमित्रा पुनले यस्ता कार्यक्रम निकट भविष्यमा पुनः आयोजना गर्ने जानकारी दिएका छन् । दानामा यस किसिमको शल्यक्रियासहितको आँखा शिविर आयोजना पहिलो पटक भएको अन्नपूर्ण गाविस–३, दानाका वडाध्यक्ष रमेश पुर्जाले बताए ।