January 25, 2025, Saturday
२०८१ माघ १३

कपिलवस्तुको कृष्णनगर नाकामा ‘सुरक्षामा लापरबाही’

भैरहवा– लुम्बिनी प्रदेशको महत्वपूर्ण कपिलवस्तुको कृष्णनगर नाकाको सुरक्षा व्यवस्थापनमा प्रहरी चुकेको पाइएको छ । यसले अत्यन्त संवेदनशील मानिएको नाकामा सुरक्षा व्यवस्थामा लापरबाही देखिएको छ । यसको सर्वत्र आलोचना भइरहेको छ ।

Advertisement

प्रहरीले कडाई नगर्दा नाकाबाट प्रतिवन्धित बस्तुको ओसारपसार भएको छ । यसको एउटा उदाहरण गत असोज ३० गते बुधबारको घटना हो । उक्त दिन कृष्णनगरस्थित सुरक्षा जाँच चौकी पार गरेर एक महिला भारतीय बजार बढनी पुगिन् । ती महिलाको गतिविधि शंकास्पद लागेपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले शरीर तलासी गर्यो । त्यसक्रममा ९ सय १० ग्राम चरेस बरामद भयो ।

सुरक्षाकर्मीका अनुसार भारतकै बासिन्दा रहेकी ती महिलाले उक्त चरेस नेपालबाट लगेकी थिइन् । सोधपुछमा महिलाले आफू भरियामात्रै भएको बयान दिइन् । त्यसअघि पनि ३–४ पटक चरेस बोकेको उनले सुरक्षाकर्मीलाई जानकारी दिइन् । सुरक्षामा लापरबाही यतिमा मात्र सीमित छैन ।

तीन साताअघिको घटना पनि जिल्लामा चर्चित छ । गत असोज ५ गते कृष्णनगर नगरपालिका–८ स्थित सानो गणेशपुर चोकस्थित चन्द्रौटाबाट कृष्णनगर जाँदै गरेको मोटरसाइकलमा सवार दुई भारतीय नागरिकबाट नेपाल प्रहरीले एक थान पेस्तोल र ५ राउण्ड गोली बरामद गर्यो । उत्तर प्रदेशको बस्ती जिल्लाका ३५ वर्षीय प्रितम कुमारले मोटरसाइकल चलाएका थिए । उक्त मोटरसाइकलमा पछाडिको सिटमा बसेका २२ वर्षीय सुरज द्विवेदीबाट हतियार र गोली बरामद गरेको थियो ।

कृष्णनगर नाकामा प्रभावकारी सुरक्षा नहुँदा लागूऔषध कारोबारीदेखि हातहतियार ओसारप्रसार गर्ने निर्धक्क आवतजावत गरिरहेका छन् । दुई–तीन महिनायता कृष्णनगर नाका आसपास भएका घटनाले प्रहरीको लापरबाही धेरै देखिएको छ । १० किमि उत्तरको बहादुरगन्जबाट मात्रै कृष्णनगरस्थित सीमासम्म पुग्दा ५ ठाउँ प्रहरी र एक ठाउँमा भन्सार कार्यालयले जाँच गर्छ । तर, यी दुवै घटनामा ६ ठाउँ जाँच गरेर जाँदा पनि प्रहरी र भन्सार सुरक्षा जाँच कसैले पनि भेउ पाउन सकेनन् ।

सीमामा जाँच व्यवस्थित हुन नसक्दा कहिलेकाहीं त्यस्तो हुनसक्ने इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुरज खत्रीले बताए । ‘उपकरण छैनन्,’ उनले भने, ‘म्यानुअल्ली चेकजाँच गर्दा सोचेजस्तो हुँदैन ।’ कृष्णनगरमा एक–डेढ महिनायता थोरै कमीकमजोरी देखिएको भन्दै त्यसलाई सुधार गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी निरन्जनदत्त भट्टले बताए ।