April 22, 2025, Tuesday
२०८२ बैशाख ९

दाउन्ने–गैडाकोट खण्डमा सीसी क्यामेरा जडान गर्ने तयारी

भैरहवा– दुर्घटना नियन्त्रण तथा न्युनिकरण गर्दै सडक यात्रालाई सुरक्षित बनाउन जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) आफ्नो कार्यक्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्गमा सिसी क्यामेरा जडानको तयारीमा जुटेको छ ।

Advertisement

उक्त कार्यालयका अनुसार, गैटाकोटदेखि दाउन्नेसम्मको ६९ किमी दुरीमा सिसी क्यामेराको माध्यमबाट सडक यात्रालाई सुरक्षित बनाउने योजना अघि सारिएको हो । यसका लागि उक्त राजमार्गसँग जोडिएका अल्य स्थानीय तहहरुसँग छलफल तथा समन्वय अघि बढाइएको छ ।

प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का एसपी यादव ढकालले यस योजनाका वारेमा बिस्तृत इष्टमेट गर्न थालिएको बताए । ‘राजमार्ग पुनर्निर्माणका कारण यतिबेला उक्त खण्डमा दुर्घटनाको जोखिम निकै बढेर गैरहेको छ’, पब्लिककुरासँग कुरा गर्दै एसपी ढकालले भने, ‘एकातिर धुलाम्मे हुने गरेकाले दुर्घटनाको जोखिम बढेको छ भने अर्कोतर्फ पिच भएको स्थानमा सवारी साधनहरु दौडाउन उछिनाउछिन गर्ने प्रबृत्तिले दुर्घटनाको जोखिम बढ्दो छ ।’

सडक निर्माणाधीन स्थानहरुमा अत्याधिक धुलोका कारण दुर्घटना भैहालेमा पनि दुर्घटना गारउने सवारी साधन भागिहाल्ने गरेकाले पत्ता लगाउन निकै कठिनाइ भएको र पीडितलाई न्याय दिलाउन पनि समस्या हुने गरेको उनले बताए ।

दुर्घटनाका कारण पत्ता लगाउन र दुर्घटनापछि फरार हुनेहरुको खोजी गरी अनुसन्धान गर्न सीसी क्यामेराको माध्यमबाट सजिलो हुने भएकाले प्रहरीले यो योजनामा अग्रसरता देखाएको हो । सिसी क्यामेराको जडानपछि हरेक सवारी साधनको गती पत्ता लगाउन र चालकको सवारी साधन चलाइको अवस्थालाई अध्ययन गर्न सहज हुने छ ।

हाल सडक विस्तार भएका ठाउँमा अत्यधिक गतिमा सवारी साधन चलाउने प्रबृत्तिलाई निरुत्साहित गर्न प्रहरीले गति सीमित गर्न पनि चालकलाई आग्रह गरेको छ । सडक किनारामा रहेका बजारहरुमा व्यक्तिगत प्रयोजनका लागि विभिन्न पसलमा राखेका क्यामेरामध्ये एउटा क्यामेरा सडकतर्फ फर्काएर राखी प्रहरीलाई सहयोग गर्न पनि प्रहरीले आग्रह गरेको छ ।

‘हामी यतिबेला यो योजनाको सरवाती चरणमा छौं र स्थानीयहहरुसँग समन्वय जारी राखेका छौं’, एसपी ढकालले भने, ‘पिच भएको स्थानमा गाडीहरु दोहोरो लाइनमा दौडिन उछिनाउछिन गर्नाले ट्राफिक रुल अस्तव्यस्त छ । नियम उल्लंघन गर्ने पत्ता लगाउन समस्या भएको छ ।’