प्रहरी निरीक्षक घिमिरे पुरस्कृत


भैरहवा– ईलाका प्रहरी कार्यालय, धकधई, रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरे पुरस्कृत भएका छन् । ६९औँ प्रहरी दिवशका अवसरमा घिमिरेलाई पुरस्कृत गरिएको हो । जिल्ला प्रहरी कार्यालय मातहतबाट पुरस्कृत हुने उनी एकमात्र प्रहरी अधिकृत हुन् ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले प्रहरी दिवशको अवसरमा प्रहरी निरीक्षक घिमिरेलाई अभिलेखमा जनिने गरि नगदसहित पुरस्कृत गरेको जनाएको छ । लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलमा भएको विशेष समारोहमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले घिमिरेलाई पुरस्कार प्रदान गरे ।
घिमिरेले आफू तथा मातहतका प्रहरी कार्यालयहरुको भौतिक संरचना निर्माण तथा स्थानीय सरकारसँगको कुशल सहकार्य गर्नमा सफल भएकोमा पुरस्कृत गरिएको जनाइएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले शान्ति, सुरक्षा तथा चोरीतस्करी नियन्त्रणमा उत्कृष्ट कार्य गरेवापत प्रहरी निरीक्षक घिमिरेलाई पुरस्कृत गरिएको जानकारी दिए ।
रुपन्देहीको पूर्व दक्षिण क्षेत्रको सुरक्षा जिम्मेवारीको नेतृत्व गरिरहेका घिमिरेले लागूऔषध नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको, चोरीतस्करी तथा सीमा अपराध नियन्त्रण गर्नमा स्थानीय जनसमुदायसँग सहकार्य गरेर काम गरेको स्थानीय जनप्रतिनिधिहरु बताउँछन् । जिल्लामा प्रहरी व्याटनको तयारी राम्रो गरेको तथा स्थानीय जनसमुदायसँग सहकार्यमा उत्कृष्ट कार्यसम्पादन गरेका कारण प्रहरी निरीक्षक घिमिरे लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत भएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी प्रमुख एसपी रञ्जितसिंह राठौरले जनाए ।
उनले स्थानीय जनप्रतिनिधि तथा समाजसेवी र राजनीतिक दलहरुसँगको सहकार्यमा संगठनले दिएको जिम्मेवारी सफलतापूर्वक सम्पादन गरेको रोहिणी गाउँपालिकाले जनाएको छ । रोहिणी क्षेत्रको शान्ति सुरक्षा कायम राख्न तथा स्थानीय जनप्रतिनिधिहरुसँग समन्वय, न्याय सम्पादनमा सहकार्य, सामाजिक सचेतनामूलक कार्यक्रममा सहयोग र सीमाक्षेत्रमा हुने अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका प्रहरी निरीक्षक घिमिरेले खेलेकोे रोहिणी गाउँपालिकाका प्रवक्ता बीरबहादुर क्षेत्रीले बताए ।
प्रहरी दिवशको अवसरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय मातहतमा रहेका विभिन्न जिल्लाबाट एक जना प्रहरी उपरीक्षक, १ जना प्रहरी नायव उपरीक्षक, ५ जना प्रहरी निरीक्षक, ४ जना प्रहरी सहायक निरीक्षक, ९ प्रहरी हवल्दार र ५ जना प्रहरी जवान पुरस्कृत भएका छन् ।








प्रतिकृया दिनुहोस्