February 16, 2025, Sunday
२०८१ फाल्गुन ४

लुम्बिनीका प्रदेश प्रमुखद्वारा दुई विधेयक फिर्ता, दुई विधेयक प्रमाणिकरण

दाङ–लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले दुई वटा विधेयक प्रमाणिकरण र दुई वटा विधेयक फिर्ता पठाएका छन् । प्रमाणीकरणका लागि प्राप्त भएका दुई वटा विधेयक सन्देशसहित प्रदेश सभामा फिर्ता पठाएका प्रदेश प्रमुखले दुई विधेयक भने प्रमाणिकरण गरेका छन् ।

Advertisement

प्रदेश निजामती सेवा ऐन २०८० लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेक पुनर्विचारका लागि भन्दै फिर्ता पठाएको प्रदेश प्रमुख कार्यालयका सचिव वेदप्रसाद खरेलले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

प्रदेश सभाबाट नेपालको संविधानको धारा १९९ बमोजिम पारित भई धारा २०१ को उपधारा(१) बमोजिम प्रमाणित भई प्रमाणीकरणका लागि पेश हुन आएका विधेयकहरु संविधानको धारा २०१ को उपधारा(३) बमोजिम पुनढर्विचार हुन आवश्यक देखिएको सन्देशसहित प्रदेश सभामा फिर्ता गरेको जनाइएको छ । प्रदेश निजामती सेवा ऐन संसोधन विधेयक प्रदेश सभाबाट भदौ ३१ गते र स्थानीय निजामती सेवाको गठन सम्वन्धि विधेयक भदौ २७ गते पारित भएको थियो । यि दुवै विधेयक प्रदेश प्रमुखले असोज २२ गते प्रदेश सभामा फिर्ता पठाएका हुन् ।

यसैगरी प्रदेश प्रमुख घर्तीले दुई वटा विधेयक प्रमाणिकरण गरेका छन् । प्रदेश विपद् व्यवस्थापन सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक र औद्योगिक व्यवस्था सम्वन्धी प्रचलित प्रदेश कानून संशाेधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणिकरण गरेका हुन् । प्रदेश विपद् व्यवस्थापन विधेयक असोज २० गते र औद्योगिक व्यवसाय सम्वन्धी विधेयक असोज २१ गते प्रमाणिकरण गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । विपद् व्यवस्थापन विधेयक प्रदेश सभाबाट भदौ २८ गते र औद्योगिक व्यवसाय सम्वन्धी विधेयक भदौ ७ गते प्रदेश सभाबाट पारित भएको थियो ।