लुम्बिनी प्रदेश पूर्णखाेप सुनिश्चित घाेषणा
दाङ- लुम्बिनी प्रदेश पूर्णखाेप सुनिश्चित तथा दिगाेपना घाेषणा गरिएको छ । १५ महिनाकाे उमेर भित्र राष्ट्रिय खाेप तालिका बमाेजिम पाउनुपर्ने सबै मात्रा खाेप लिएकाे अवस्थालाई सुनिश्चित गरिएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई पूर्णखाेप सुनिश्चित भएको घाेषणा गरेका हुन् ।
लुम्बिनी प्रदेशमा आर्थिक बर्ष २०८०-०८१ रणनीति अनुसार १६ देखि ५९ महिनाका १३० शून्य डाेजका र दुई हजार तीन सय ४३ खाेप लगाउन छुटेका ड्रप आउट बालबालिकालाई खाेजि गरेर पूर्णखाेप लगाइएको छ । लुम्बिनी प्रदेशमा दुई लाख ६२ हजार ८ सय ५६ जना बालबालिकाले पूर्णखाेप पाएकाे सुनिश्चित गरिएपछि पूर्णखाेप सुनिश्चित प्रदेश घाेषणा गरिएको हाे । घाेषणा कार्यक्रममा स्वास्थ्य मन्त्री खेम सारु लगायत स्थानीय तहका प्रमुख /उपप्रमुखहरुकाे सहभागिता थियाे ।
बालबालिकाहरुमा विभिन्न सरुवा राेगबिरुद्ध खाेप लगाइँदै आएकाे छ । क्षयरोग, भ्यागुते राेग, लहरेखाेकी, धनुष्टंकार, हेपाटाइटिस बि, हेमाेफिलस इन्फ्लुएञ्जा बी, पाेलियाे, दादुरा, रुबेला, न्यूमाेनिया, मेनिन्जाईटिस, जापानी इन्सेफलाइटिस, टाइफाइड, राेटा भाइरसबाट हुने झाडापखालाबिरुद्ध खाेप उपलब्ध गराउँदै आइएकाे हाे । नेपालमा २०६९ पुस १४ गते अछाम जिल्लाकाे भागेश्वर गाउँविकास समितिबाट पूर्णखाेप घाेषणा गरी सुरु गरिएको थियाे ।
प्रतिकृया दिनुहोस्