October 15, 2024, Tuesday
२०८१ आश्विन २९

बचत फिर्ताको आसमै सीता दर्जी थलिइन्

भैरहवा– रुपन्देहीको बुटवल–१०, स्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा शौंचालय सफा गरेर नगद जम्मा गरेकी बुद्धनगरकी ५० वर्षीया सीता दर्जी उक्त रकम फिर्ताको आस गर्दागर्दै बिरामले थलिएकी छन् । बुटवलस्थित राजमार्ग चौराहास्थित सार्वजनिक शौचालय सफा गरेर गुजारा चलाउँदै आएकी उनलाई विभिन्न शारिरीक समस्या देखिएका छन् । सुरुमा पत्थरीको शल्यक्रिया गरेकी उनलाई उच्चरक्तचाप र शरीर सुन्निने समस्याले सताइरहेको छ । खुट्टा सुनिएपछि हिँडडुलमै समस्या भएको उनले बताइन् ।

Advertisement

सहकारीमा जम्मा गरेको बचत रकम फिर्ता पाएपछि उपचार गर्ने आसमै झन बिरामी पर्न थालेको उनले बताइन् । शरीर सुनिने समस्या भएपछि राजमार्ग चौराहास्थित शौचालय सफाईको काम प्रभावित भएको छ । सकिनसकी चौराहा पुगे पनि पहिले जस्तो काम गर्न नसक्ने उनले बताइन् । ‘सन्चो नभएर घरमै छु,’ उनले भनिन्, ‘हातखुट्टा सुनिएका छन् ।’ शरीरले साथ नदिए पनि प्रत्येक बिहान ४ बजे राजमार्ग चौराहास्थित पूर्वपश्चिम राजमार्गको उत्तरपट्टि रहेको सार्वजनिक शौचालयसम्म पुगिरहेको उनले सुनाइन् । आफू बिरामी परेर नियमित काम गर्न नसक्दा आम्दानी घटेको उनको भनाई छ । दैनिक कमाई भएको पैशा साँझ बिहान छान टार्न ठिक्क पुग्छ ।

बचत नभएकाले नियमित औषधि सेवन गर्न कठिनाई पर्ने उनले बताइन् । घरमा सघाउने छोरा–छोरी छैनन् । बिहान शौचालय सफा गर्न गएपछि खाना खान घरै आउनुपर्छ । अहिले सोह्रश्राद्ध परेकाले बाहिरको खाँदिनन् । ‘घर आएर पकाएर खान्छु,’ उनले भनिन्, ‘खानापछि दवाई खाएर फेरि राजमार्ग चौराहा फर्किन्छु ।’ दुई दशकदेखि सीताको यो दैनिक कार्य हो । जाडो होस् या गर्मी उनी शौचालय दुरुस्त राख्न सबेरै पुग्छिन् । बिहान ४ बजे बुद्धनगरबाट हिँड्दैं आउँदा आधा घण्टा लाग्छ । सीताले काम गर्ने शौचालयभन्दा एक सय मिटर पश्चिम सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको कार्यालय छ । त्यहाँ ताला लागेको वर्षदिन भन्दाबढी भइसक्यो ।

दुखीबिरामी पर्दा उपचार गरौंला भनेर शौचालय रेखदेख गरेर कमाएको ३ लाख रुपैयाँ सुप्रिम सहकारीमा बचत गरेकी थिइन् । सीता ९ वर्षअघि सुप्रिमको सदस्य बनिन् । सहकारीमा ताला लागेपछि रकम फिर्ताका लागि स्थानीय सरकारदेखि जिल्ला प्रशासनसम्म धाइन । एक महिनाअघि रकम फिर्ताका लागि पहल गरिदिन माग गर्दै लुम्बिनी प्रदेशको राजधानी दाङसम्म पुगिन् । ‘के को रकम फिर्ता दिने हो,’ उनले भनिन्, ‘दिन्छम भनेको धेरै भयो, खै पाइएन ।’ सहकारीमा रकम फसेपछि पत्थरीको शल्यक्रिया गर्दा लागेको ७० हजार रुपैयाँ ऋण चुक्ता गर्न सकेकी छैनन् ।

अहिले रक्तचाप बढ्छ । कहिलेकाही कोलस्ट्रोलले सताउँछ । सहकारीका समस्या छानबीन गर्न संसदीय समिति बनेकोबारेमा उनलाई जानकारी छैन । ‘हाम्रो कुरा कसले पो सुन्छ र ?,’ उनले भनिन्, ‘बुटवल–नारायणगढ खण्ड सडक बिस्तार गर्दा चर्पी भत्किन्छ, त्यसपछि के गरेर ज्यान पाल्ने चिन्ता छ ।’ शौंचालय रुङेर सीताले एक छोरा र एक छोरी हुर्काइन् । पतिको ७ वर्षअघि हृदयघातबाट मृत्यु भयो । छोरीले बिहेवारी गरिन् । रल्लिएर समय कटाउने छोरालाई सम्झाई बुझाइ बैदेशिक रोजागारीमा बहराइन पठाएकी छन् । ‘हामी निमुखाको कसले सुन्दिने,’ उनले भनिन्, ‘सरकारले के गरेको छ थाहा छैन ।’ उनले बचत रकम फिर्ता गराइदिन सरकारलाई अनुरोध गरिन् ।