लुम्बिनी भ्रमणका लागि स्वदेशी र विदेशी पर्यटकलाई मुख्यमन्त्री आचार्यको निम्तो
दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वदेशी तथा विदेशी पर्यटकहरुलाइ लुम्बिनी प्रदेश भ्रमण गर्न आह्वान गरेका छन् । दाङको घोराहीमा आयोजना गरिएको विश्व पर्यटन दिवस कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले ‘लुम्बिनी घुमौं’ अभियानलाई व्यापक बनाउने उद्घोष गरे ।
‘म सबैमा आह्वान गर्न चाहन्छु, लुम्बिनी प्रदेशको एक पटक अवश्य भ्रमण गरौं’, उनले भने, ‘लुम्बिनी प्रदेश पर्यटनको केन्द्र हो । हरेक हिसाबले लुम्बिनी समृद्ध छ । हाम्रो प्रदेश मिनि नेपालको रुपमा स्थापित छ । एकपटक लुम्बिनी भ्रमण गर्न सबैमा निमन्त्रणा गर्दछु ।’ लुम्बिनी प्रदेश सरकारले लुम्बिनी पर्यटन सर्किटलाई स्थापित गर्ने उनले बताए ।
‘लुम्बिनी आएका पर्यटकलाई १२ जिल्लाको भ्रमण गराउनेगरी पर्यटन सर्किट बनाउने गरि काम भइरहेको छ’, उनले भने, ‘विदेशी पर्यटक भित्र्याउन अन्तर्राष्ट्रिय स्तरमा पनि समन्वय भइरहेको छ ।’ प्राकृति रुपमा लुम्बिनी समृद्ध रहेको र यसबाट विकासको आधार निर्माण गरिने उनले बताए ।‘लुम्बिनी प्रदेश पर्यटक दृष्टिकोणले एक नम्बरमा पर्छ । पर्यटनको प्रचुर सम्भावना छ’, उनले भने, ‘विभित्र जातजाति, समुदायको कला संस्कृतिले लुम्बिनीको पहिचान विश्व समुदायमा पुगेको छ ।’
लुम्बिनी प्रदेश सरकारले विश्व पर्यटन दिवस दाङमा मनाएको छ । उद्योग पर्यटन तथा यातायात मन्त्रालय पर्यटन विकास परिषद र घोराही उपमहानगरपालिकाको संयुक्त आयोजनामा ४५ औं पर्यटन दिवस घोराहीमा मनाइएको हो । पर्यटन, न्याय र शान्ति मुल नारा सहित उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्ड विक्रम न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा घोराही उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख हुमाकुमारी डिसीले पर्यटनको विकासबाट समृद्धी हासिल गर्न सकिने प्रशस्त आधारहरु रहेको बताइन्। ‘पर्यटन दिवसले रोजगारीको अवसर सृजना गर्छ । स्थानीय उत्पादनको बजारीकरण गर्न मद्दत गर्छ । यसले समग्र विकासमा टेवा पुग्छ’, उनले भनिन्, ‘पर्यटन समृद्धिको आधार हो । यहाँका नागरिकको जीविकोपार्जन गर्न अवसरहरु सृजना गर्दछ ।’
थरिथरि झाँकी र रैथाने परिकारको उत्सव
पर्यटन दिवसलाइ विभिन्न समुदायको झाकि, रैथाने परिकार, हस्तकलाका सामाग्री प्रदर्शनीले भब्य बनाइएको छ । गणेशपुर तुलसीपुरले गन्धर्व समुदायको मालाश्री सारङ्गि धुन, अवधी संरक्षण प्रतिष्ठान गढवाले अवधी नाच, देउखुरीका थारु समुदायले कठघोरी नाच प्रस्तुत गरेका थिए । नेवारी समुदायको लाखे नाच, तुलसीपुर गरगरवाका स्थानीयले नुवागाउँले सोरठी नाच प्रस्तुत गरेका थिए ।
पाल्पा मिस्दी गाउँपालिकाको कोरा नाच, घोराही१० को थारु समुदायको वडका नाच, लुकमेली खाम समाजको भुम्या नाच, घोराहीका थारु समुदायले थारु सख्या नाच प्रदर्शन गरेका थिए । यस्तै हातबाट बुनिएका कपडा, माटोका भाँडा, फलामका सामाग्री प्रदर्शनीमा राखिएको थियो ।
प्रतिकृया दिनुहोस्