June 12, 2025, Thursday
२०८२ जेष्ठ ३० शुक्रबार

यु–१९ छनोटः चार खेलाडीको अर्धशतकमा रूपन्देहीद्वारा पाल्पा २९१ रनले पराजित

भैरहवा– चार खेलाडीको अर्धशतकीय पारीको मद्दतमा भैरहवामा जारी लुम्बिनी प्रदेशस्तरीय अन्डर–१९ क्रिकेट छनोट प्रतियोगितामा रुपन्देही यु–१९ ले सानदार जित निकालेको छ । रुपन्देहीले पाल्पा यु–१९ लाई २ सय ९१ रनले पराजित गर्दै जित हासिल गरेको हो ।

Advertisement

मंगलबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको रुपन्देहीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ७३ रनको उच्च योगफल बनायो । उसका लागि विजय प्रजापतीले ९६, समीर अलीले ६८, सन्तोष साउदले ५७ र सन्तोष यादवले ५१ रनको अर्धशतकीय इनिङ खेले । बलिङमा पाल्पाका रोशन बश्याल, नरबहादुर सार्की र उदय महर्जनले समान २–२ तथा सुदर्शन भण्डारीले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको पाल्पा ३४ ओभर २ बलमा सबै विकेट गुमाउँदै ८२ रनमै समेटियो । उसलाई सस्तैमा रोक्न रुपन्देहीका रमेश कुर्मीले ३, सुमित पराजुली र सुरज खड्काले समान २–२ तथा सागर गैरे र सन्तोष यादवले १–१ विकेट लिए । पाल्पाका अमित अधिकारीले ३३ र कुशल ढकालले १३ रन बनाउन बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन् । खेलमा रुपन्देहीका विजय प्रजापती म्यान अफ द म्याच घोषित भए ।

अन्डर–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि प्रदेश स्तरीय टिम छनोट गर्न प्रत्येक जिल्लाको फकर–फकर टिम बनाएर छनोट खेल भइरहेको प्रादेशिक क्रिकेट संघ लुम्बिनी प्रदेशका अध्यक्ष संजय गुरुङले जानकारी दिए । उनका अनुसार छनोट खेलपछि उत्कृष्ट खेलाडीलाई समेटेर लुम्बिनी प्रदेश स्तरीय यु–१९ क्रिकेट टिम घोषणा गरिने छ ।